नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पुर्वाधारको लागि ५१ करोड ३० लाख अनुमानित बजेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २७ गते २०७६ मा प्रकाशित


पोखरा रंगशाला

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाभित्र फुटबल मैदान बन्दै छ । एथलेटिक्सको लागि सिन्थेटिक ट्रयाक निर्माण हुने गरिने छ । फुटबल मैदान र एथलेटिक ट्रयाक असारभित्रमा बनिसक्ने छ । कागजी सम्झौताले त्यही भनेको छ । व्यवहारत भने फरक पाटो रह्यो । भलिबलको लागि बहुउद्देश्यीय कभर्ड हल छदैं छ । फुटबल मैदान, एथलेटिक ट्रयाक र कभर्ड हलमा अर्को वर्षको पुसमा हुने नर्वौ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु सञ्चालन गरिने छन् । फुटबलसहित एथलेटिक ट्रयाक भने खास गरी साग गेम्सको लागि निर्माण गरिदैं छ । कभर्ड हल पनि साग गेम्सकै खेल सञ्चालन गर्ने गरी बनाईएको हो । सागको लागि बनाईएको पुर्वाधारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका इभेण्टहरु खेलाउन सहज हुने विश्वास छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि आठौंमा झैं ३५ खेल समावेश गरिने छ । आयोजकले नयाँ खेल प्रस्ताव गर्ने पाउने अधिकार समेत रहन्छ ।

फुटबल मैदान र एथलेटिक ट्रयाकको लागि १ अर्ब २७ करोडमा निर्माण गर्ने गरी जिम्मेवारी दिईसकिएको छ । नेपाली र भारतीय कम्पनीले संयुक्तमा काम गरिरहेका छन् । बहुउद्देश्यीय कभर्ड हल पनि १६ करोड भन्दा बढीको लागतमा तयार गरिएको हो । खाली बनाउन बाँकी साउण्ड सिष्टम, सिट र पार्केटिङ हाल्ने काम छ । त्यसको लागि राष्ट्रिय खेलकुद परिषदले व्यवस्थापन गर्दै आएको छ । फुटबल मैदानको लागि युवा तथा खेलुकद मन्त्रालय मार्फत परिषदले अनुगमन गरिरहेको छ । ती पुर्वाधार बाहेक नवौं राष्ट्रिय खेलकुदको लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले ५१ करोड ३० लाख रुपैयाँको प्रारम्भिक बजेट प्रस्ताव गरेको छ ।

‘पुर्वाधार बनाउनुपर्ने र भएका पुर्वाधारलाई मर्मत सम्भार तथा स्तारोन्नति गर्नको लागि ५१ करोड ३० लाखको बजेट प्रस्ताव गरेका छौं ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले भने–‘प्रस्ताव गरिएको बजेटले काम गर्दै जादाँ नपुग्न पनि सक्छ । यो त केवल सामान्य रुपमा अनुमानकै भरमा गरिएको प्रस्तावित बजेट हो ।’ निर्माण गर्नुपर्ने केही पुर्वाधारलाई आगामी आर्थिक वर्षदेखि बजेट निकासा भए काम शुरु गर्ने समितिको योजना रहेको छ । प्रस्ताव गरिएको बजेटमा सबैभन्दा बढी स्वीमिङ पुलको लागि छ । स्वीमिङ पुल बनाउन ४० प्रस्ताव छ । पोखरा रंगशालाभित्रै निर्माणको लागि पोखरा रंगशाला गुरुयोजना बनाउँदै खेरी जग्गा छुट्टाइएको छ । आगामी आर्थिक वर्षकै साउनमै बजेट निकासा नभए निर्माण पुरा गर्न कठिनाई हुने उनको भनाई थियो । ‘टेण्डर आह्वान गरी, कम्पनी छनोट गरेर टुग्याउँदा समय गएको मेसो नै हुदैन् ।’ उनले भने–‘त्यसैले अर्को आर्थिक वर्षभित्रमा निर्माण पुरा गर्न सकिए खेलाडीले प्रशिक्षण समेत त्यही स्वीमिङमा गर्ने अवसर पाउँथे ।’

व्याडमिन्टन कभर्ड हलको लागि २ करोड प्रस्ताव गरिएको छ । व्याडमिन्टनको हल भने पोखरा भन्दा बाहिर अन्य जिल्लामा निर्माण गरिने छ । स्क्वासको लागि १ करोड ५० लाख छ । पोखरा रंगशालाभित्रै स्क्वासको कोर्ट निर्माणाधिन छ । त्यसलाई पुरा गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने योजना खेलकुद विकास समितिको छ । क्रिकेटको लागि ९५ लाख, सुटिङको लागि ९० लाख, आर्चरीको लागि ९० लाख रुपैयाँ प्रस्ताव गरिएको छ । बक्सिङ र तेक्वान्दोको लागि क्रमश ३५ र ४० लाख रुपैयाँ प्रस्ताव गरिएको छ । बक्सिङको लागि रिङ र तेक्वान्दोको लागि एरिना म्याट राखेर) निर्माण गर्नुपर्ने हुन्छ । कराँतेको लागि पनि ३५ लाख नै छ । टेवल टेनिसको लागि ३० लाख रुपैयाँ छ । पोखरामा टेवल टेनिसको बोर्डको अभाव । आठौंमा छनोट चरणका खेलहरु सञ्चालन भने परिषद भन्दा निजी संस्थाको बोर्ड प्रयोग गरिएको थियो । बास्केटबलको लागि पनि खेलकुदले ३० लाख रुपैयाँ नै प्रस्ताव गरेको छ ।

सेपाक ताक्रोको लागि ४० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । खो खोको लागि ३० लाख, जुडो, आईटिएफ तेक्वान्दो, हक्की, प्याराग्लाईडिङ र ट्रायथलनको लागि २०/२० लाख रुपैयाँ प्रस्ताव गरिएको समितिले जनाएको छ । त्यस्तै भारोत्तोलन, उसु, लन टेनिस र गल्फको लागि १५/१५ लाख रुपैयाँको प्रस्ताव गरिएको समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । कबड्डी, कुस्ती, बुद्धिचाल, ह्याण्डबल,जिमन्याष्टिक, साईक्लिङ, फेन्सिङका खेलहरुलाई भने १०/१० लाख रुपैयाँ रहेको छ । गल्फको पोखरामा आवश्यक पुर्वाधार छ । पोखरा रंगशालाभित्रै व्याडमिन्टनको कभर्ड हल पनि संघकै पहलमा निर्माणाधिन छ । तर त्यसको लागि भने बजेट छुट्टाइएको छैन् । परिषदले १ करोड १० लाख रुपैयाँ व्याडमिन्टन हलको लागि उपलब्ध गराईसकेको छ । लन टेनिसको लागि पनि परिषदले गत वर्ष नै टेण्डर आह्वान गरी भौतिक पुवर्धारसहित हार्ड कोर्ट, क्ले कोर्ट निर्माण अघि बढाएको थियो । तर अहिले भने काम रोकिएको छ । चेन्जिङ रुम, फिडव्याक रुम, शौचालयसहितको भौतिक संरचना निर्माणकै क्रममा स्थगित हुन पुगेको छ । वर्षेनी सामानको मूल्यमा हुने बृद्धिले पुर्वाधार निर्माणमा लगानी अझ बढ्न सक्ने अनुमान गरिएको छ ।