योगाभ्यास गर्ने पार्कसहित व्यायामशालाको ठेक्का सम्झौता, भण्डारढीकमा खुल्ला व्यायामशाला निर्माण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-स्वास्थ्य नागरिकको अभियान अन्तर्गत पोखरा महानगरपालिकाले पोखरा १८ सराङकोटमा योगाभ्याससहित खुल्ला व्यायाम सेन्टर स्थापना गर्न ठेक्का सम्झौता गरेको छ । पोखरा १८ जामुनबोटस्थित सार्वजनिक जग्गामा बन्ने उक्त व्यायामशालाको निर्माण ठेक्का पोखराकै मोनालिसा निर्माण सेवाले पाएको छ । कम्पनीले ४५ लाख २ हजारमा निर्माणको ठेक्का पारेको हो । १ सय ४५ फिट लम्बाइ र ८२ फिट चौडाइमा व्यायामशालाका लागि फाउन्डेसन तयार हुने महानगरका सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीले जानकारी दिए ।

पोखरा ३१ बेगनासताल नजिकै निर्माण गर्ने व्यायामशालाका लागि ठेक्का सम्झौता भएको छ । एमएनसी÷लोयल जेभी पोखराकै निर्माण कम्पनीले उक्त योजनाको ठेक्का पाएको हो । उक्त व्यायामशालाका लागि ४९ लाख ५९ हजार रुपैयाँमा निर्माण गर्न कम्पनीले जिम्मेवारी लिएको छ । दौडका लागि वरिपरी दौड ट्रयाक समेत बनाइने भएको छ । योगाभ्यासका लागि पार्क भित्रै बगैंचा निर्माण गरी व्यवस्थापन गरिने छ । स्वस्थ्य नागरिक अभियान अन्तर्गत महानगरले खुला व्यायामशालाका लागि योजना बनाएको हो ।

पोखरा महानगरपालिकाले वडा नम्बर २९ स्थित भण्डारढीक खेल मैदानमा खुल्ला व्यायामशाला स्थापना गरेको छ । बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला पोखरा महानगरपालिकाले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायामशाला निर्माणको काम सुरु गरेको हो । भण्डारढिकमा स्थापना गरिएको व्यायमशालाको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे । यो पोखराको पहिलो खुल्ला व्यायामशाला हो ।

व्यायामशालाको उद्घाटन गर्दै प्रमुख जिसीले स्वस्थ्य नागरिक निर्माणको लागि महानगरले खुल्ला व्यायामशालाको अवधारणा अगाडि बढाएको बताए । उनले यस्ता व्यायमशाला टोल÷टोल हुनुपर्ने बताउँदै टोल विकास संस्थासँग महानगरले सहकार्य गरेर व्यायामशाला निर्माण गर्न सहयोग गर्ने समेत बताए । उक्त स्थानमा एक सेट व्यायाम राखिएको छ भने एकै पटकमा १४ जनाले व्यायाम गर्न मिल्नेछ । उक्त सामग्री खरिद गर्न महानगरले २ लाख खर्चेको छ ।

महानगरपालिकाका अनुसार पोखरा ६ बैदामस्थित तालबाराही विद्यालय नजिकैको छेउको पार्कमा केही दिनमै एक सेट व्यायाम सामग्री राखिने छ । उक्त सामग्री चिनबाट खरिद गरी ल्याइएको हो । व्यायामशालामा निशुल्क रुपमा व्यायाम गर्न सकिनेछ । भण्डारढिक रंगशालाको व्यवस्थापन र सञ्चालन गर्दै आएको आदर्श क्लबले नै व्यायामशालाको व्यवस्थपान गर्नेछ । आदर्श क्लबका अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतमा भएको कार्यक्रममा पोखरा २९ का कार्यवाहक वडाध्यक्ष हेमबहादुर बानिया, आदर्श क्लबको पूर्व अध्यक्ष विशाल श्रेष्ठ, सचिव पदम गुरुङले व्यायामशालाको बारेमा बोलेका थिए ।