ज्ञानकाजीलाई मन्थ्ली गल्फको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ११ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित मासिक प्रतिस्पर्धा अन्तर्गत मे महिनाको गल्फ उपाधि ज्ञानकाजी गुरुङले जितेका छन् । पोखराको छिनेडाडाँस्थित गल्फ कोर्षमा स्टेबल फोर्डको आधारमा गरिएको प्रतिस्पर्धामा गुरुङले ६५ को कार्ड बनाउँदै उपाधि आफनो नाममा लेखाएका छन् । अघिल्लो महिना उनी दोस्रो स्थानमा चित्त बुझाएका थिए । उनले चार अण्डर खेल्दै उपाधि जितेका हुन् ।

२३ जना गल्फरको प्रतिस्पर्धा रहेको प्रतियोगितामा ग्रस तर्फ भने ईन्जिनियर गोविन्द गौचनले जितेका छन् । उनको उपाधि स्कोर भने ६६ थियो । उनले ज्ञानकाजी भन्दा एक स्ट्रोकले पछि परे । स्टेबल फोर्ड प्रतिस्पर्धामा मेजर चन्द्र गुरुङ दोस्रो स्थानमा चित्त बुझाएका छन् । उनले १८ होलमा ७२ स्कोर बनाउँदै उपविजेतामा रहदै मे महिनाको प्रतियोगितालाई विट मारे । उनीहरुलाई नयाँ सदस्यको रुपमा विनोद गुरुङ र पुराना सदस्य जोय हामण्डले ट्रफी प्रदान गरेका थिए ।

पोखराको उक्त गल्फ कोर्षमा १२ महिना प्रतिस्पर्धा हुदैं आएको छ । प्रतियोगिताले पोखरालाई स्पोर्टस टुरिज्म सिटीको रुपमा विकास गर्न टेवा पुर्याउँदै आएको छ । वर्षमा एक पटक ठूलो प्रतियोगिताको रुपमा व्यवसायिक खेलाडीहरु बीचको प्रतिस्पर्धा सुर्य नेपाल वेष्टर्न ओपन हुदैं आएको छ । त्यसबाहेक विभिन्न समयमा बेलायतस्थित गोर्खा रेजिमेन्टका सदस्यहरु बीच प्रतिस्पर्धा हुने गरेको छ ।

नियमित प्रतियोगिताले गल्फ कोर्ष मर्मत सम्भारमा सहजता भएको छ । विश्वकै नमूना गल्फ कोर्षको रुपमा परिचित हिमालयन गल्फ कोर्ष केवल पार ६९ को छ । विजयपुर २ जलविद्युत परियोजनाको निर्माणले पार ६९ बनाईएको हो । परियोजनाको काम सकिए लगत्तै पार ७० बनाउने गल्फ कोर्षका व्यवस्थापक भूबहादुर गुरुङले जानकारी दिए ।