फुटबल मैदान प्राकृतिक बनाउने निर्णय, नोभेम्बरसम्म मैदानसहित भिआईपी प्यारापिट बनाईसक्न निर्देशन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ३ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखराको फुटबल मैदान प्राकृतिक बनाउने निर्णयसँगै नोभेम्बरभित्रमा हस्तान्तरण गर्नुपर्ने निर्णय गरिएको छ । युवा तथा खेलकुद मन्त्री, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, परिषदका अन्य पदाधिकारीहरु, बोर्ड सदस्य तथा ठेकेदार कम्पनीका पदाधिकारीहरु सहित बैठकले नोभेम्बरभित्रमा फुटबल मैदानलाई प्राकृतिक बनाई हस्तान्तरण गर्नुपर्ने निर्णय गरिएको छ । तर फुटबल मैदानसहितको फाईनल डिजाईनलाई भने एकहप्ताभित्रमा टुग्याउने सहमति गरिएको परिषदका बोर्ड सदस्य राजेश गुरुङले बताए ।

‘मैदान अब आर्टिफिसियल हुदैन् । प्राकृतिक नै बन्ने छ । त्यसको लागि समय नोभेम्बरसम्मको म्याद तोकिएको छ ।’ उनले भने–‘अब दुविधामा रहेर काम गर्नुपर्ने छैन् ।’ उनका अनुसार पहिलो प्राथमिकता मैदानलाई दिइएको छ । मैदानपछि ट्रयाक र प्यारापिट निर्माण गर्न ठेकेदार कम्पनीलाई ध्यानाकर्षण समेत गराइएको छ । साग हुनु अघि नै मैदानसहित भिआईपी प्यारापिट तयार गर्नुपर्ने ठेकेदार कम्पनीलाई दबाव दिइएको छ ।

ठेकेदार कम्पनीले आर्टिफियल मैदान बनाउने योजनासहित मैदानको काम अघि बढाएको थियो । तर प्राकृतिक बनाउन कुनै सम्झौता नहुने भएपनि मैदानमा हालिएको गिटी सबै उठाएर बनाउनुपर्ने छ । त्यसको लागि समय केही बढ्ने अनुमान गरिएको छ । यद्यपी गर्नुपर्ने ठोस निर्णयहरु समयमै गरिदिनुपर्ने माग भने ठेकेदार कम्पनीले गरेको छ ।

पोखरा रंगशाला फुटबल स्टेडियम निर्माणको लागि भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)सँग सम्झौता गरिएको हो । प्यारापिटसहित ट्रयाक एण्ड फिल्ड बनाउन आवश्यक डिजाईन फाईनल अझै टुंगिएको छैन् । मैदान मात्रै प्राकृतिक बनाउने निर्णय भएको बोर्ड सदस्य गुरुङले दोहोर्याए ।

प्रोजेक्ट मेनेजर हरिबावु न्यौपानेले रंगशालाको ट्रयाकको लागि आवश्यक सामान जर्मनबाट नेपालको लागि कन्टेनरमा लोड हुने अवस्थामा रहेको जानकारी दिएका थिए । उनले ४५ दिनभित्रमा फिल्डमा आईपुग्ने बताएका थिए । राष्ट्रिय खेलकुद परिषदले भने फुटबल स्टेडियमको लागि आवश्यक बजेटमध्ये ५३ करोड गत आर्थिक वर्षमा विनियोजन गरेको हो । नयाँ आर्थिक वर्षको लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई हुनुपर्ने उल्लेख छ । फुटबल मैदानको लागि एक अर्ब २८ करोड रुपैयाको लागत अनुमान गरिएको छ ।

पोखरामा महिला फुटबलसहित, आर्चरी, प्याराग्लाइडिङ, ट्रायथोलन लगायतका खेलहरु सञ्चालन हुने छन् । सागको लागि बोर्ड सदस्य गुरुङकै सक्रियतामा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पदाधिकारी, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, विभिन्न खेलकुद संघका पदाधिकारीहरु बीच छलफल हुदैं पोखराको इज्जतसँगै जोडिएको भन्दै सागलाई भव्य रुपमा सम्पन्न गर्ने तर्फ कुनै कसर बाँकी राख्न नहुने जिकिर गरेका छन् । file pic