लामाचौर तीज महोत्सवमा आठौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ७ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- एक महिनापछि पोखरामा तीज महोत्सव शुरु हुने छ । तीज महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आठौं सस्करण आयोजना गरिने छ । नवआर्दश सामुदायिक विकास समाजले वर्षेनी तीजे महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएकोछ ।

राष्ट्रिय महिला भलिबलसँगै विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिताको इभेण्ट समेत समावेश गरिएको छ । राष्ट्रिय महिला भलिबलमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । भलिबललाई रेडबुलले प्रायोजन गरेको छ । महोत्सव तथा भलिबल प्रतियोगिता पोखरा–१९ लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा आयोजना गरिने प्रचारप्रसार संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा सुनाए । कास्की जिल्ला सितेरियो कराँते संघको व्यवस्थापनमा नरबहादुर बानियाँ स्मृति सितेरियो कराँते च्याम्पियनसिप समेत आयोजना गरिने छ ।

२०५४ सालमा स्थापित नवआदर्श क्लब रुपान्तरण हुदैं नवआदर्श सामुदायिक विकास समाजको विकसित रुप हो । सामाजिक क्षेत्रमा सक्रिय रहेको क्लबले स्थापनासँगै हरितालिका तीजको अवसरमा भलिबल प्रतियोगितालाई प्राथमिकता दिदैं आएको छ । यद्यपी राष्ट्रियस्तरको प्रतिस्पर्धा गरेको भने यो आठौं वर्ष हो । त्यसभन्दा अघि पश्चिमाञ्चलस्तरीय प्रतिस्पर्धा गर्दै आएको थियो । महोत्सव आगामी भदौ १२ देखि १६ गतेसम्म सञ्चालन हुने छ ।

भलिबल विजेताले १ लाख १५५ रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो हुने टोलीले ६५ हजार ५ रुपैयाँको पाउने छ । तेस्रो हुने टोलीलाई नगद २५ हजार ५ रुपैयाँ प्रदान गरिने प्रचारप्रसार संयोजक खत्री क्षत्रीले बताए । उनका अनुसार उत्कृष्ठ खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने छ । खेल लिगकम नकाउटमा खेलाईने छ । विद्यालयस्तरीय प्रतिस्पर्धाको विजेताको हकमा भने २५ हजार, दोस्रो हुने टोलीलाई १५ हजार र तेस्रो हुने विद्यालयलाई १० हजार रुपैयाँ प्रदान गरिने छ ।

तीजकै अवसरमा महिलाहरुलाई लक्षित गर्दै तीज गीत प्रतियोगिता समेत आयोजना हुने छ । एकातिर भलिबल पारखी र अर्कोतिर गीत संगीतको मनोरन्जनात्मक गतिविधिले महोत्सवमाा रौनक थप्ने विश्वास आयोजकले लिएका छन् । तीज गीत प्रतियोगितामा विजेता समूहलाई २५ हजार, दोस्रो हुने समूहलाई १५ हजार तथा तेस्रो हुने टोलीलाई नगद १० हजार रुपैयाँ एवं सान्त्वना स्वरुप ५ हजार रुपैयाँ समेत प्रदान गरिने छ । विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितालाई समेत क्लबले प्रवद्र्धन गर्दै विजेतालाई २५ हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार, सान्त्वना हुने दुई टोलीलाई ३÷३ हजार रुपैयाँ प्रदान गरिने छ । एकल नृत्य प्रतियोगिता विजेतालाई पनि १० हजार रुपैयाँ प्रदान गरिने छ । दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

महोत्सवमै पहिलो पटक एकल खुल्ला प्रतियोगितामा सहभागिहरुको प्रि अडिसन शुरु गरिने छ । अन्तिम दश जना बीचको फाईनल प्रतिस्पर्धा गराईने छ । क्लबले महोत्सवको पुर्वसन्ध्यामा मिलीजुली खुल्ला तथा ५० वर्षमाथिको उमेरसमूहमा व्याडमिन्टन प्रतियोगिता आयोजना गरिसकेको छ । पाँचदिनसम्म चल्ने महोत्सवमा ४० व्यापारिक स्टल राखिने छ । ६ वटा होटलको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । महोत्सव ३७ लाख रुपैयाँ खर्चको अनुमान र आम्दानीमा भने ४० लाख ६० हजार रुपैयाँ अनुमान गरिएको छ । बचत साढे तीन लाख रुपैयाँ विभिन्न कोषमा विनियोजन गरिने छ । राष्ट्रिय महिला भलिबललाई रेडबुल इनर्जी ड्रिङ्क, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितालाई पवित्र गणेश सप्लायर्स, महिला समूहगत तीज गीत प्रतियोगितालाई दि युनाईटेड गोल्ड मार्टले प्रायोजन गरेको समाजका अध्यक्ष कमलबहादुर थापाले जानकारी दिए । सहप्रायोजकको रुपमा लामाचौर मिक्चर सेवा समितिसँग सम्झौता भईसकेको छ । विदेशमा रहने विभिन्न व्यक्तिविशेषबाट समेत आर्थिक संकलन गरी सहयोग प्राप्त हुने अध्यक्ष थापाले बताए ।