फुटबल मैदानको डिजाईन फाईनलमा ढिलाई, निर्माणमा असर पर्ने चिन्ता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ७ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाको फुटबल मैदानको डिजाईन फाईनल नहुदाँ निर्माणमा ढिलाई भएको युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले स्वीकारेका छन् । उनले मैदानको डिजाईन एकसाताभित्रमा टुग्याउने स्पष्ट पारे ।

सागको तयारीको लागि पोखरा आईपुगेको मन्त्री विश्वकर्माले मंगलबार पोखरा रंगशालाभित्र निर्माणाधिन भौतिक पुर्वाधारको निरिक्षण गर्दै फुटबल मैदानको डिजाईन फाईनलमा ढिलाई भएको स्वीकारे । ‘पहिला प्राकृति मैदान की आर्टिफियल बनाउने भन्ने टुंगोमा पुगिएको थिएन ।’ उनले खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा भने–‘अब प्राकृतिक बनाउने फाईनल निर्णय गरिएको छ । तर अन्य डिजाईनको टुंगो लागिसकेको छैन् ।’ डिजाईन फाईनल नहुदाँ पोखरामा साग महिला फुटबल प्रतियोगिता आयोजना कमजोर देखिएको छ ।

चार महिना मात्रै बाँकी छ । मैदानमा ओछ्याईको गिटी उठाएर फेरी लेभलिङ गर्नुपर्ने खाँचो छ । त्यसले गर्दा अझ समय लाग्ने देखिन्छ । दुवो उम्रिएर मैदान हरियो हुनै समय लाग्नेस्थितिले फुटबल प्रतियोगिता आयोजनामै शंका उत्पन्न पोखरेली खेलकुदप्रेमीलाई बढेको छ । ‘असार मसान्तसम्म सक्ने निर्णय गरिएको हो । तर प्राविधिक समस्याले ढिला हुन पुग्यो ।’ उनले भने–‘अब कार्तिक १५ भित्रमा मैदान निर्माण गरिसक्नुपर्ने दायित्व र जिम्मेवारी छ ।’ ठेकेदार कम्पनीले पनि पोखरामा आफैंले निर्माण गरेको मैदानमा साग फुटबल प्रतियोगिता आयोजना गरिने हुदाँ गौरवपूर्ण जिम्मेवारीलाई समयमै सक्ने विश्वास मन्त्री विश्वकर्माले लिएका छन् ।

मन्त्री विश्वकर्माले चार समयभित्रमा सागका सबै पुर्वाधार तयार गरिने प्रतिबद्धता गर्दै सागको लागि सहभागी राष्ट्रलाई निमन्त्रणा गरिसकिएको जानकारी दिए । ‘पुर्वाधार निर्माणको काम बजेटले रोकिदैन ।’ उनले भने–‘यो आर्थिक वर्षमा मन्त्रालयले बजेट उपलब्ध गराउँछ । काम सकिन्छ ।’ उनले साग पुर्व नै निर्माण पुरा गर्ने दोहोर्याउँदै साग अघि कुनैपनि पुर्वाधार निर्माणको चालु अवस्थामा नराखिने स्पष्ट पारे ।

पोखरामा महिला फुटबल, आर्चरी, ह्याण्डबल, भारोत्तोलन, प्याराग्लाईडिङ, ट्रायथोलन र भलिबल लगायतका खेलहरु सञ्चालन गरिने प्रस्ताव छ । आर्चरी मैदानलाई ग्रिनरी गर्ने उद्देश्यसहित राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङको नेतृत्वमा सरसफाई गर्दै ८० वटा विरुवा मंगलबार रोपिएको थियो । फुटबल मैदान वरिपरीको १० लेनको ट्रयाक हालिने छ । प्यारापिटको लागि एकैपटक ढलान गरेर जडान गर्ने कि छुट्टाछुट्टै ढलान गरी फलाम जडान गर्ने भन्ने विषयमै अन्यौल छ ।

ठेकेदार कम्पनीले ४५ दिनभित्रमा फिल्डमा आईपुग्ने दावी गरेको छ राष्ट्रिय खेलकुद परिषदले भने फुटबल मैदानको लागि आवश्यक बजेटमध्ये ५३ करोड गत आर्थिक वर्षमा विनियोजन गरेको हो । नयाँ आर्थिक वर्षको लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई हुनुपर्ने उल्लेख छ । फुटबल मैदानको लागि एक अर्ब २८ करोड रुपैयाको लागत अनुमान गरिएको छ । पोखरा रंगशाला फुटबल मैदान निर्माण गर्ने जिम्मा भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)ले लिएका हुन् ।