मिसन १३ औं साग, प्याराग्लाईडिङको उडान र अवतरण स्थलको अध्ययन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-डिसेम्बर १देखि१० सम्म आयोजना हुने १३ औं साग अन्तर्गत पोखरामा आयोजना हुने प्याराग्लाइडिङ खेलको लागि उडान र अवतरणस्थलको स्थलगत अध्ययन गरिएको छ । विहीबार प्याराग्लाइडिङको उडान र अवतरणस्थलको स्थलगत अवलोकन गर्ने क्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङ, पोखरा महानगरपालिका–१८ का वडाध्यक्ष रणबहादुर थापा, प्याराग्लाइडिङका प्रशिक्षक योगेश भट्टराई, ह्याण्डग्लाइडिङ तथा प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतसहित खेलकुदका पदाधिकारी तथा प्याराग्लाइडिङका पाइलटसहितको टोलीले सराङकोट, तोरीपानी र अतवरण गरिने ठाउँ फेवाताल किनार पामेको अवलोकन गरिएको हो ।

अवलोकनका क्रममा सराङ्कोटको चपाईको चौतारोको खरबारी क्षेत्रलाई प्याराग्लाईडिङको टेकअफको मुख्य प्वाइन्ट बनाउन उपयुक्त हुने निक्र्यौल गरिएको छ । यद्यपी ठाँउबाट ५० मिटर तलमात्रै हाइटेन्सन तार तानिएकोले तारलाई अन्यत्र सार्नुपर्नेमा जोड दिइएको छ । टोलीले हाल प्याराग्लाइडिङको व्यवसायीक उडान भइरहेको सराङ्कोटकै चण्डीको डिलकोपनि अवलोकन गरेको थियो । सो ठाउँलाई वैकल्पिक टेकअफ प्वाइन्ट बनाउनुपर्ने निश्कर्ष निकालिएको छ । चण्डीको डिल टेकअफका लागि उपयुक्त ठाउँ भएपनि क्षेत्रफलको हिसाबले केहि साँघुरो देखिएकाले प्रतियोगिताको लागि वैकल्पिक टेकअफ प्वाइन्ट बनाउन उपयुक्त हुने देखिएको हो । प्रतियोगिताका लागि एक्कुरेसी र क्रस कन्ट्री गरी दुई विधाका लागि फरक÷फरक १÷१ वटा टेकअफ र ल्याण्डिङका लागि मैदान आवश्यक पर्ने बताइएको छ ।

लोकेसन, क्षेत्रफल र त्यहाँबाट देखिने प्राकृतिक दृश्य सबै हिसाबले चपाईको चौतारोको खरबारी उपयुक्त देखिएको राखेप सदस्य राजेश गुरुङले बताए । हाल व्यवसायीक उडान भइरहेको तोरीपानी क्षेत्रपनि टेकअफका लागि उपयुक्त भएपनि सरकारी जग्गा नभएका कारण दीर्घकालिन नहुने भएकाले त्यसलाई कम प्राथमिकतामा नपरेको उनले बताए । करीब एक सय रोपनी क्षेत्रफल रहेको यो क्षेत्र हाल खरबारीको रुपमा रहेको छ । प्राविधिक रुपमा टेकअफका लागि योग्य भए महानगरको स्वामित्वको रुपमा रहेको यो जग्गामा टेकअफका लागि प्रयोग गर्न दिन सकिने सम्बन्धित क्षेत्र पोखार १८ का वडाध्यक्ष रणबहादुर थापाले बताए ।

टेकअफका लागि अन्र्तराष्ट्रिय मापदण्ड अनुसार ८०÷८० मिटर क्षेत्रफल आवश्यक पर्छ । त्यस्तै प्रतियोगितालाई मध्यनजर गरेर महिला र पुरुषका लागि छुट्टाछुट्टै १÷१ वटा गरी २ वटा चेञ्जिङ रुम तथा शौचालय निर्मण गर्नुपर्ने देखिएको छ । यसैगरी टेकअफ प्वाइन्टको जमिनलाई ४० डिग्रीको लेवलमा स्लोप बनाउनुपर्ने र भुईंमा फुटसलमा प्रयोग हुने खालको कार्पेट बिछ्याउनुपर्ने हवाई खेलकुद संस्था (ना) का अध्यक्ष तथा प्याराग्लाईडिङका राष्ट्रिय प्रशिक्षक योगेश भट्टराईले बताए । टेकअफ प्वाइन्टको केहि तल जालीसमेत बिछ्याउनुपर्ने उनको भनाई छ । प्रतियोगिताका बेला कारणवश उडान हुन नसकेको खण्डमा दुर्घटना नहोस् र जालीमा सुरक्षित अड्कियोस भन्नका लागि जाली लगाउनुपर्ने उनले प्रष्ट पारे ।

प्राविधिक रुपमा चपाईको चौतारोको खरबारी टेकअफका लागि उपयुक्त देखिएको प्याराग्लाइडिङका प्रशिक्षक तथा (ना)का अध्यक्ष भट्टराईले बताए । प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतलेपनि उक्त क्षेत्र टेकअफका लागि उपयुक्त देखिएको तर जग्गाको स्वामित्व, केहि रुखका बुट्टाहरु काट्नुपर्ने, जमिन सम्याएर ४० डिग्रीको लेवलमा स्लोप बनाउनुपर्ने तथा अन्य चेञ्जिङ रुम, ट्वाइलेट, खानेपानीलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने बताए ।

प्राविधिक टोलीको निश्कर्ष अनुसार टेकअफका लागि सराङ्कोटको चपाईको चौतारो र ल्याण्डिङका लागि इन्ड अफ दी लेक (ढल्केबार)लाई बनाउनेगरी सिफारिस पठाउने तयारी गरिएको राखेप सदस्य राजेश गुरुङले बताए । प्याराग्लाईडिङ प्रतियोगितामा ८ स्वर्णका लागि प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा एकल क्रस कन्ट्री महिला र पुरुष, समूह क्रस कन्ट्री महिला र पुरुष तथा एकल एक्कुरेसी महिला र पुरुष एवम् समूह एक्कुरेसी महिला र पुरुष गरी ८ विधामा प्रतिष्पर्धा हुने जनाइएको हो । गत वर्ष सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जितेको नेपालले सागमा भने ८ वटै स्वर्ण जित्ने लक्ष्य राखेको छ । २६ जना खेलाडीहरु अहिले बन्द प्रशिक्षणमा छन. ।