१७ औं आहा राराको बचत १ लाख ४९ हजार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १८ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-फुटबलको पर्याय बनेको सहारा क्लबले १७ औं सस्करणको फुटबल प्रतियोगिताबाट सबैभन्दा कम रकम बचत गरेको छ । २०५९ सालदेखि शुरु भएको आहा रारा गोल्डकपको इतिहासमै क्लबले केवल १ लाख ४९ हजार रुपैयाँ मात्रै फुटबल प्रतियोगिताबाट जोगाएको छ । यो सहाराले आयोजना गर्दैै आएको गोल्डकपमै कम रकम हो ।

हिमश्री फुड्सको मुख्य प्रायोजन तथा विभिन्न संघसंस्थाहरुको सह प्रायोजक, उपप्रायोजन र प्रायोजन, राष्ट्रिय खेलकुद परिषद, क्षेत्रीय खेलकुद विकास समिति तथा जिल्ला खेलकुद विकास समितिको सहयोग, पोखरा महानगरपालिकाको संयोजनमा
गत फागुन ९ गतदेखि १८ गतेसम्म फुटबल प्रतियोगितामा सञ्चालित थियो । जतिबेला पोखरा रंगशालाको दुवैतर्फका प्यारापिट भत्काईएको थियो । दर्शकलाई क्लबले स्काई फोल्डिङयुक्त सीटको व्यवस्थापन गरेको थियो । यद्यपी क्लबले जटिल परिस्थितिमा पनि फुटबल प्रतियोगिता सञ्चालन गर्दै घाटा व्यहोर्ने तर्फ उन्मुख देखिएको थियो । तर दर्शकको उपस्थिति बाक्लिएपछि सञ्चालन मुनाफा भने क्लबको खातामा १ लाख ४९ हजार देखिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

क्लबले दिएको जानकारी दिए अनुसार मैदान, स्टेज, प्यारापिट व्यवस्थापनको लागि मात्रै ८ लाख ७७ हजार रुपैयाँ खर्च गरिएको थियो । क्लबले ६९ लाख २९ हजार ४६० रुपैयाँ खर्च भएको उल्लेख गरेको छ । गेट टिकट मात्रै क्लबले १५ लाख ५० हजार २६५ रुपैयाँको विक्री गरेको तथ्यांक छ । मुख्य प्रायोजकबाट १३ लाख ५१ हजार उपलब्ध गराउँदा राष्ट्रिय खेलकुद परिषदले ४ लाख रुपैयाँ सहयोग दिएको थियो ।

गोर्खा ब्रुअरी नेपाल प्रालिले ४ लाख, हिमांश एजुकेशन कल्सन्टेन्सीले ४ लाख १ हजार, पृथ्वी राजमार्ग बस व्यवसाय समिति(हाल कम्पनी)ले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो । क्लबले सञ्चालन तथा व्यवस्थापन खर्च तर्फ ६ लाख ६७ हजार रुपैयाँ खर्च गरेको थियो । प्रोत्साहन खर्चमा मात्रै १३ लाख २२ हजार रुपैयाँ खर्च गर्दा कास्की जिल्ला फुटबल संघलाई मैदान मर्मत सम्भार खर्च स्वरुप दुई लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । क्लबले ११ दिने प्रतियोगिताबाट ७० लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।