पिपिएल दोस्रो संस्करणको तयारी, मैदानको मर्मत कार्य शुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २४ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-समय अब एक महिना मात्रै छ । एक महिनापछि पोखराको क्रिकेट मैदानमा फेरी क्रिकेटको फ्रेन्जाईज च्याम्पियनसिप शुरु हुदैै छ । आगामी कार्तिक २६ गतेदेखि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगिता शुरु हुने छ । एसिसी फोटो अवार्ड जितेको पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा दोस्रो सस्करणको पिपिएलको लागि आवश्यक तयारी शुरु गरिएको छ । एक महिनाभित्रमा क्रिकेट मैदानको मर्मत सम्भार गर्नेगरी काम शुरु गरिएको छ । मर्मत सम्भारको जिम्मेवारी पोखराका क्युरेटर प्रदीप राउतलाई दिइएको छ ।

राउतका अनुसार आउट फिल्ड भन्दा पनि पहिला पिच नै बनाउनुपर्ने खाँचो छ । ‘दुईवटा पिच क्ले हुन्छ । बाँकी दुई पिच भने हल्का हरियो हुने छ ।’ उनले भने–‘त्यसै अनुसार काम शुरु गरिएको छ ।’ उनका अनुसार आउट फिल्डको लगभग तयारी जस्तै भईसकेको छ । आउट फिल्डको घाँस काटेर लेभलिङ गर्ने काम गरिएको उनले सुनाए । ‘केही ओरालो भएको ठाँउमा माटो भनेर सम्याउने छौ ।’ उनले भने–‘ माटो भरिएको ठाँउमा हरियो बनाउन नियमितजसो वाटरिङ(पानी सिंचित) गरिने छ ।’

पहिलो संस्करणबाट अथाह उत्साह र क्रिकेटको क्रेज बढाएको पिपिएलको दोस्रो सस्करण पनि उस्तै हुने आशा र विश्वास धेरैले गरेका छन् । पहिलो सस्करणको उपाधि पोखरा पल्टनले उचालेको थियो । फ्रेन्चाईज क्रिकेटको इतिहासमै सर्वाधिक पुरस्कार राशीको प्रतिस्पर्धामा फेरी कार्तिक अन्तिम सातादेखि शुरु हुने छ ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालित प्रतियोगितामा दर्शकको लागि आवश्यक सिटसहितको प्यारापिट समेत बनाउने योजना छ । गत वर्ष पहिलो संस्करणमा मैदान निर्माणमा खर्च बढी गरिएको थियो । तर अहिले खर्च भने त्यत्ति हुने देखिदैन् । जिल्ला खेलकुद विकास समितिको १० लाख रुपैयाँ र कास्की जिल्ला क्रिकेट संघको ९१ हजार रुपैयाँको लागतमा मैदानको वरिपरी माटो भरेर सम्याउने काम गरिसकिएको छ । झाडी बुट्यान सबै फालिएको छ । मैदान फराकिलो बनेको छ ।

विराटनगर टाइटन, बुटबल ब्लास्टस, चितवन राइनोज, धनगढी ब्लुज, काठमाडौं रोयल्स, र पोखरा पल्टनले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । ती कम्पनीले केही दिनभित्रैमा अब खेलाडीमाथि बोली लगाउने छन् । गत वर्ष पोखरा पल्टनले दुई घरेलु खेलाडीलाई अनुबन्धन गरेको थियो । यो वर्षपनि निरन्तरता दिने अपेक्षा गरिएको छ । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पनि पोखरा आयोजना हुने पिपिएलले क्रिकेटको विकास र विस्तारमा महत्वपूर्ण टेवा दिने बताउँदै स्पोर्टस सिटीको रुपमा अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।