पोखरामा अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड, शसस्त्र प्रहरी च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-खेलकुदको माध्यमबाट चीनिया पर्यटक प्रवद्र्धन गर्ने उद्देश्य सहित पोखरामा आयोजित अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडको उपाधि विभागीय टोली शसस्त्र प्रहरी बल(एपीएफ) च्याम्पियन बनेको छ ।

२२ किलोमिटर दौड, १९ किलोमिटर साईक्लिङ र १.२ किलोमिटर बोटिङ(डुंगा) गर्दै ४२.२ किलोमिटरको दुरी तय गर्ने क्रममा चीनियाँ टोलीलाई पछि पार्दै शसस्त्र टोलीले ४ घण्टा १७ मिनेट २२ सेकेण्डको समय लगायो । शसस्त्र प्रहरी बलको टोलीको सदस्यमा सन्तोषविक्रम विष्ट, गणेश खत्री र ईन्द्रकला नेम्वाङ थिए ।

उनीहरुलाई पछ्याएको गोरिल्ला टे«ल टिम भने एक मिनेट एक सेकेण्डले पछि पर्दै उपविजेतामा चित्त बुझायो । गोरिल्ला टे«ल टिमले ४ घण्टा १८ मिनेट २३ सेकेण्डको समय लगाएको थियो । बाराहीचोकस्थित खेलमैदानबाट शुरु भई १३४१ सय मिटरको उचाईको मट्टिखान रिर्सोट पुगेर फेवातालको किनार बाराहीचोकस्थित खेलमैदानमै आएर दौड टुंगिएको थियो । गोरिल्ला टिममा दुर्गाराज बुढा, रसिला तामाङ र दामोदर बुढामगर थिए । उनीहरु पोखरामा वर्षेनी आयोजना हुने पोखरा ट्र्ेल रेस सिरिजमा सहभागिता जनाउँदै आएका छन् ।

दौडको तेस्रो स्थानमा भने पाहुना टोली चीनको काइनेटिक टिम आईपुग्यो । आगन्तुक टोलीले ४ घण्टा २४ मिनेट ३३ सेकेण्डको समय निकाले । टोलीमा चेन इझेन, पाङ उई झु र लाइ यु जुन रहेका थिए । चीनियाँ टोलीका खेलाडीहरु एकल प्रतिस्पर्धा समेत उत्रिएका थिए । एकल प्रतिस्पर्धामा हाङ जीले ३ घण्टा ३९ मिनेट २७ सेकेण्डको समय लगाए । दोस्रो स्थानमा हाङसियान फाईले ३ घण्टा ५० मिनेट र तेस्रो स्थानमा हाउ उवान वेनले ४ घण्टा १ मिनेटको समयमा पुरा गरेका थिए । चीनबाट २६ सदस्यीय टोली दौडको लागि आईपुगेका थिए । ३ टिम र अन्य भने व्यक्तिगत प्रतिस्पर्धामा थिए । नेपाली खेलाडीहरु भने ६६ जना (२२ टिम) सहभागि थिए ।

पोखरा र चीनियाँ शहर कुनमिङ बीच भगिनी सम्बन्ध छ । भगिनी सम्बन्धलाई अझ प्रगाढ बनाउने अभियानमा माउण्टेनरिङ्ग एक्सप्लोरेसन एशोसियन कुनमिङ(चीन)को सहयोगमा पोखरा उद्योग वाणिज्य संघले पश्चिमाञ्चल होटल संघ र जिल्ला खेलकुद विकास समितिको संयुक्त रुपमा पोखरामा अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड आयोजना गरिएको थियो । दौडको मुख्य उद्देश्य पोखरालाई साहसिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यसहित चीनिया पर्यटक प्रवद्र्धन गर्ने अभियानले आयोजना गरिएको प्रतियोगिताका संयोजक एव पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष विश्वशकंर पालिखेले सुनाए ।

एउटा समूहमा ३ जना सहभागि थिए । एक महिला र दुई पुरुष खेलाडी समावेश थिए । माउन्टेनरिङ एसोसियनका विज्ञहरुले झण्डै दुई वर्षको अध्ययनपछि पोखरामा क्रस कन्ट्री दौड आयोजना गरिएको उनले बताए । बाराहीघाटबाट शुरु भएको दौड ड्यामसाईड हुदैं तिब्बतियन क्याम्प हुदैं फुस्रे खोलामा पुगेपछि साईक्लिङ शुरु हुन्छ । साईक्लिङ त्यहाँबाट केमेरे, राम्दी, मट्टीखान रिर्सोटहुदैं रामकोटमा पुगेको थियो । त्यसपछि उल्लेरी, खरिखानी, भयरथान, पैयु चौतारी, भुम्दी, कालाबाङ, स्वाँरा, लुकुनस्वाँरा, लिचिबोट हुदैं लिचिबोटबाट डुंगामा लिएर स्वीमिङपुल घाटमा आईपुग्ने छन् । स्वीमिङपुल घाटबाट पुन दौडेर बाराही घाटमा टुंगिने रुट तय गरिएको थियो । दौडको नारा भने ‘रन फर लभ’ थियो । ‘पोखराको चीनिया पर्यटन प्रवद्र्धन गर्नको लागि हाम्रो पहिलो प्रयास हो’, पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष पालिखेले भने–‘पोखराको पर्यटन प्रवद्र्धनको लागि यो प्रतियोगिता कोषेढुंगा सावित हुने विश्वासमा छौ ।

नेपालमा एक वर्षमा ५४ हजार चीनिया पर्यटक आगमन भईसकेको तथ्यांक छ । फ्रि भिसाले चीनिया पर्यटकका आकर्षण बढिरहँदा पोखरामा पनि उल्लेख्य आगमन देखिएको छ । साहसिक खेल पर्यटनको लागि चीनियाँ पर्यटक पोखरा आउने गरेका छन् । विजेता नेपाली समूहले कुनमिङमा आयोजना हुने १०० किलोमिटरको क्रसकन्ट्री रेसमा सहभागिता जनाउन पाउने छ ।

क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निमार्णाधिन छ । सन २०२१ मा पुरा गर्ने लक्ष्य छ । नेपाल सरकारले २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहेको छ । गण्डकी प्रदेश सरकारले पनि २०२२ मा गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्रयाउने महत्वाकांक्षी योजना छ । ‘पोखरालाई मित्रराष्ट्र चीनको पर्यटकीय बजारमा परिचित गराउन र विश्वकै धेरै घुम्न जाने साँस्कृतिको विकास हुदैं गरेको देशबाट पोखरामा पर्यटक भित्रयाउन हामीले यो मेघा इभेण्ट आयोजना गर्यौं ।’ उनको भनाई थियो ।