खेलाडी घाईते, थन्किएको भलिबलको म्याट विछ्याएर प्रशिक्षण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ४ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पुरुष ह्याण्डबल टोली यतिबेला खासै प्रशिक्षणमा छैन् । प्रशिक्षणमा केवल ६ जना मात्रै छन् । बाँकी १० जना खेलाडी घाईते छन् । घाईते खेलाडी प्रशिक्षणमा अनुपस्थिति हुदाँ बाँकी ६ खेलाडीले प्रशिक्षण गर्दै आएका छन् ।

प्रशिक्षण पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कर्भड हलभित्र हुदैं आएको छ । झण्डै एक महिनादेखि प्रशिक्षण गर्दै आएको टोलीको एकसाता अघि मात्रै पूर्णरुपमा छनोट गरी बन्द प्रशिक्षणमा राखिएको हो । बन्द प्रशिक्षणका खेलाडी घाईते भएपनि समस्या थपिएको छ । कभर्ड हलमा म्याट छैन् । सिमेन्टेटमा प्रशिक्षण हुदाँ खेलाडीहरु घाईते बन्न पुगे ।
घाईते खेलाडी अहिले आराममा छन् । खेलाडी घाईते हुदाँ नजिकिदैं गएको सागको मितिले पनि आयोजक राष्ट्र नेपाललाई थप तनाब सृजना गरिदिएको छ । ‘१० जना खेलाडी घाईते छन् ।’ ह्याण्डबल प्रशिक्षक जीवन बस्नेतले भने–‘६ जना खेलाडी मात्रै प्रशिक्षणमा छन् ।’ म्याटकै अभावले पनि खेलाडी बढी घाईते भएको ठम्याई छ । ह्याण्डबल पावर गेम अन्तर्गत पर्छ । पावर गेमकै कारण कन्ट्याक्टमा खेल्नुपर्ने हुदाँ त्यसको असर खेलाडीलाई परेको छ । सिमेन्टमा पछारिदाँ बढी जोखिम हुन्छ ।

खेलाडी घाईते हुदाँ सागमा असर पर्ने नेपाल ह्याण्डबल संघले उल्लेख गरेको छ । ‘ह्याण्डबल कन्ट्याक्ट गेम हो । त्यसले पनि खेलाडी घाईते भएका हुन् । ’ नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङ सुनाउँछन्–‘म्याट नै नभएर घाईते भएका हुन भन्न सकिदैन् ।’ उनले म्याट नहुदाँ घाईते भएको कारण मान्न सकिएपनि म्याट हुदैंमा घाईते हुन्नन भन्न नसकिने जिकिर गरे ।

अध्यक्ष गुरुङले कभर्ड हलको लागि आवश्यक म्याटको लाग राष्ट्रिय खेलकुद परिषदले टेण्डर आह्वान गरेको सुनेको बताए । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आउन केवल डेढ महिनाभन्दा पनि कम समयको अवस्थामा आह्वानले समयमै उपलब्ध हुने सम्भावना कमजोर देखिएको छ । यद्यपी साग अघि नै म्याट विछ्याएर खेल्ने योजना र लक्ष्यमा भने ह्याण्डबल टोली छ ।

ह्याण्डबलका खेलाडी लगातार घाईते बन्न थालेपछि सिमेन्टेट फ्लोरमा भलिबलले राखेको म्याट प्रयोग गरिएको छ । म्याट सोमबार विहानदेखि खेलाडीहरुले विछ्याउन शुरु गरेका थिए । हल भित्र आफैं सरसफाई गर्दै म्याट विछ्याई प्रशिक्षणको तयारी गरिरहेको खेलाडी विशाल बस्नेतले बताए । उनी आफैं घाईते भएर कम्मरमा बेल्ट बाँधेर म्याट विछ्याउन तल्लिन थिए ।

कभर्ड हलमा पार्केटिङ, सिट र साउण्ड सिष्टमको व्यवस्थापन गर्ने योजना राष्ट्रिय खेलकुद परिषदले बनाउँदै ५ करोड रुपैयाँ छुट्टाएको थियो । तर छुट्टाइएको रकम भने निकासा भईसकेको छैन् । रकम निकासा नहुदाँ पार्केटिङ अथवा म्याट राख्ने योजना पुरा हुन सकेको छैन् । त्यसैगरी सिट र साउण्ड सिष्टम व्यवस्थापन गर्न नसकिदाँ राष्ट्रियतामै आँच आउने हो कि भन्ने चिन्ता छ । सागलाई राष्ट्रिय प्रतिष्ठाको विषयसँग जोडिरहँदा पुर्वाधार व्यवस्थित बनाउन प्रभावकारी ध्यान पुग्न नसकेको भान प्रष्ट भएको छ । file pic