झमक्कै साँझमा खेलमैदान निरिक्षण गरी पोखराबाट फर्कियो टोली

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २४ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-कृत्रिम प्रकाशको उज्यालोमा निर्माणाधिन फुटबल मैदान, क्रिकेट मैदान र व्याण्डमिन्टन तथा बहुउद्देश्यीय कभर्ड हलको निरीक्षण गर्दै दक्षिण एशियाली ओलम्पिक कमिटिको टोली फर्किएको छ । शनिबार साँझ पोखरा आईपुगेको टोलीले झमक्कै साँझमा प्रस्तावित खेलमैदान मध्ये केही निरीक्षण गरेका हुन् । केही स्थल भने आईतबार दिउँसो निरिक्षण गरेका थिए । विच भलिबल, आर्चरी र भारोत्तोलनको खेल स्थल भने आईतबार विहान र दिउँसो हेरेर टोली फर्किएको थियो ।

निरीक्षणपछि आईतबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले हिजोसम्म खेल हुन्छ कि हुन्न भन्ने चिन्ता थियो भन्दै टोलीले अध्ययन गरेपछि तोकिएकै समयमा खेल हुने बताए । नेपालबाटै १९८४ बाट शुरु भएको साग गेम्सको १३ औं संस्करणको रुपमा तेस्रो पटक आयोजनाको जिम्मेवारी नेपालमै आएको उल्लेख गर्दै नेपाल र नेपालीको प्रतिष्ठाको विषय भएकोले पनि तोकिएकै समयमा आउने हुने विश्वास व्यक्त गरे । ‘पुर्वाधार लगभग तयार भईसकेका छन् । केही पुर्वाधारलाई मंसिर पहिलो साताभित्रमा सकिने छ ।’ उनको भनाई थियो । पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले सागको तयारीमा कुनै कसर बाँकी नराखिएको जिकिर गरे । ‘केही खेलका खेलाडी विदेशमा प्रशिक्षणमा छन् । केही खेललाई विदेशीले प्रशिक्षण दिईरहेका छन्।’ उनले भने–‘खेलस्थलको निर्माण पनि अन्तिमचरणमा छन् ।’

सागका २७ खेलमध्ये भलिबल र उसुका खेलहरु भने तोकिएको समय भन्दा केही दिन अघि शुरु हुने छ । पोखरामा निर्माणाधिन फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता गर्ने तयारी छ । यद्यपी मैदान पूर्णरुपमा तयार भईसकेको छैन् । दुबो राम्ररी उम्रिएको अवस्थाले खेल खेलाउन कठिनाई हुने सञ्चारकर्मीको प्रश्नमा सदस्य सचिव सिलवालले रोलेरले पेल्दै अर्को दिन खेल खेलाउने स्पष्ट पारे । पोखरामा महिला फुटबलसँगै, क्रिकेट, आर्चरी, भारोत्तोलन, विच भलिबल, व्याडमिन्टन, ट्रायथोलन, ह्याण्डबल र प्याराग्लाइडिङ हुने छन् । सदस्य सचिव सिलवालले प्याराग्लाईडिङको लागि पनि न्युनतम ३ देशको सहभागिताको लागि पहल भईरहेको उल्लेख गरे । ‘नेपाल त भईहाल्यो, अन्य दुई देशलाई सहभागिताको लागि आग्रह गरिरहेका छौं ।’ उनको भनाई थियो । उनले प्यारापिट समेत एकसाताभित्रमा जडान गरिसक्ने दावी गरे । ‘दुई साईडमा गरी १० हजार दर्शक क्षमतासहितको प्यारापिट तयार हुन्छ ।’ उनको भनाई थियो । मैदानमा अहिले १७ मध्ये १२ वटा शौचालय तयार गरिएको छ । तर भिआईपी र चेन्जिङ रुम भने तयार हुने अवस्था देखिदैन् । पटक पटक गरी ल्याइएको दुबोले पनि राम्ररी फष्टाईनसक्दा फुटबल बुटले सबैजसो उप्किने सम्भावना छ ।

आर्चरीको मैदान निरिक्षणपछि मैदान हरियाली नहुदाँ धुलो उड्ने संकेत टोलीले गरेको कास्की जिल्ला आर्चरी संघले जनाएको छ । ‘जमिन सम्याईएको छ । धुलो उड्छ कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।’ उनले भने–‘तर हामीले विहान र साँझ पानी हालेर धुलो मारेर खेल सञ्चालन गर्ने प्रतिबद्धता गरेका छौं ।’ ह्याण्डबलको लागि आवश्यक म्याट आईसकेको छैन् । प्रशिक्षणको लागि समेत कठिनाई रहेको छ । भलिबलको थोत्रो म्याटमा प्रशिक्षण लिनुपर्ने बाध्यता छ । उता आर्चरी र व्याडमिन्टनको पुर्वाधार पनि तयारको संघारमै छन् । आर्चरीमा चेन्जिङ रुम निर्माण गरिदैं छ । ट्रायथोलनको लागि आवश्यक चेन्जिङ र शौचालय बनाउने विषयमा भने अझै निर्णय भईसकेको छैन् । सडक भने महानगरपालिकाले टालटुल गरिरहेको छ ।