काठमाडौंको पहिलो जित, धनगढी १०६ ले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-जित्नै पर्ने दबावमा रहेको काठमााडौं गोल्डेन्सले कप्तान ज्ञानेन्द्र मल्लको शतकीय पारीको इनिङ्समा नमस्ते पोखरा प्रिमियर लिग फ्रेन्चाईज टी–२० प्रतियोगितामा एक्सपर्ट धनगढी ब्लुजलाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै काठमाडौं एलिमिनेटोरको लागि आफनो सम्भावनालाई जिवितै बनाईराखेको छ । अघिल्ला दुई खेलहरुमा पराजित भएपछि काठमाडौंलाई धनगढी ब्लुजसँगै बाँकी खेल जित्नैपर्ने दबाव थियो ।

चिसो मौसममा ओभर घटाईएको खेलमा पोखराको मैदानमा नेपाली क्रिकेटका राष्ट्रिय टोलीका कप्तान समेत रहेका मल्लको दुलर्भ शतक हेर्ने अवसर मिल्यो । १७ ओभरको खेलमा मल्लले घरेलु क्रिकेट अन्तर्गत पिपिएलको दोस्रो संस्करणमा शतक हान्ने क्रममा ३८ बलको उपयोग गरे । उनले १०० रन पुरा गरेसँगै कमलसिंह ऐरीको बलमा सन्दीप झोराको हातबाट क्याच भएका थिए । म्यान अफ दि म्याच घोषित भए ।

गौरभ तोमरलाई शून्य रनमै आउट भएपछि जयकृष्ण कोल्सावाल र अमित श्रेष्ठले दोस्रो विकेटको लागि महत्वपूर्ण साझेदारी गरे । अमित श्रेष्ठ सागर ढकालको विक्रम ठगुन्नाको हातबाट क्याच हुदाँ ३४ रनमा खेलिरहेका थिए । उनले २१ ब्ल खेल्ने क्रममा ६ चौका र एक छक्का हिर्काए । जयकृष्ण कोल्सावालले ४६ रन बनाउने क्रममा ३७ बलको उपयोग गर्दै ४ चौका र दुई छक्का ठोके । चौथो नम्बरमा आएका कप्तानले विष्फोटक इनिङ खेल्दै २४ बलमा ५४ रन हान्दै अर्धशतक पुरा गरेका मल्लले थप १४ बलमा ४६ रन बनाउँदै शतक पुरा गरेका थिए । ८ चौका र ९ छक्का उनको इनिङमा सामेल थियो । १७ ओभरको समाप्तीमा काठमाडौंले ५ विकेटको क्षतिमा १८५ रन बनाउँदै चुनौति पेश गर्यो । बलिङ तर्फ भने कमलसिंह ऐरीले ३७ रन खर्चेर ४ विकेट लिए ।

एक्सपर्ट धनगढी ब्लुजलाई ७९ रनमै समेटदिएपछि काठमाडौंले फराकिलो रन अन्तरको जित निकाल्यो । श्रीमान्थ विजयारत्नेले सर्वाधिक १५ रन बनाए । कप्तान दिपेन्द्र सिंह ऐरी भने ८ रनमै क्याचआउट भए । उनलाई बसन्त रेग्मीले कोल्सावालको हातबाट क्याच गराए । रोड्रिगो थोमसले दोहोरो अंकको रन बनाउने क्रममा १० रन स्कोर बोर्डमा चढ्यो । उनलाई पनि बसन्तले नै पवन सर्राफको हातबाट क्याच गराउँदै पभेलियनको बाटो देखाए । बाँकीका व्याट्सम्यानबाट दोहोरो अंकको रन निस्कन भने सकेन् । बसन्तले ३ विकेट लिदाँ सुबोध भाटी र पवन सर्राफको नाममा दुई दुई विकेट लेखियो । क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालित पोखरा प्रिमियर लिग अन्तर्गत बुधबार दोस्रो खेल पोखरा पल्टन र विराटनगर टाईटन्स बीच भईरहेको छ ।