चितवनको तेस्रो जित, शीर्षस्थानमा यथावत

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ४ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नमस्ते पोखरा प्रिमियर लिग फ्रेन्चाईज टी–२० क्रिकेट प्रतियोगितामा चितवन राईनोजले पोखरा प्रिमियर लिगको दोस्रो संस्करणको उपाधि होडलाई बलियो बनाउँदै शीर्षस्थानमा छ ।

अन्तिम तीन ओभरमा ५७ रन जोडेपछि चितवन राईनोजले ५ विकेटको क्षतिमा एक्सपर्ट धनगढीलाई १८२ रनको चुनौति पेश गर्यो । ८ विकेट गुमाउँदै धनगढी भने १२८ रनबाट उकालिन सकेन् । भरपर्दा बलर कमलसिंह ऐरीले घरेलु फ्रेन्चाईज लिग पिपिएलमै खराब बलिङ गरेपछि धनगढीले सोचेभन्दा बढी लक्ष्य पछ्याएको थियो । ४–०–५२–० को स्पेल प्रदर्शन गरेपछि धनगढीले बिशाल लक्ष्य पछ्याउन बाध्य भयो । सागर ढकालको ४–०–४३–० को कमजोर बलिङ रह्यो ।

कमलले १८ औं र अन्तिम ओभर बलिङ गर्ने क्रममा ३८ रन दिए । कप्तान दिपेन्द्रसिंह ऐरीले पनि १९ औं ओभरमा ओभरबराबरै रन दिएपछि धनगढीको बलिङमाथि चितवन राइनोजका व्याट्सम्यान हावी भईदिए । छैटौं विकेटको लागि सन्नी पटेल र आरिफ शेखले ७२ रनको साझेदारी गरे । सन्नीले ३२ रनमा अविजित रहदाँ आरिफ शेख भने अर्धशतक बनाउन ३ रनले चुके । १७ बल खेल्दे सन्नीले ३२ रन बनाउँदा एक चौका र ३ छक्काको तथ्यांक स्कोर खातामा लेखे । आरिफले पनि २० बलमा ४७ रन हिर्काउँदा २ चौका र ४ छक्का ठोकिदिए ।

टस जितेर व्याटिङ गरेको चितवनका रोहन मुस्तफालाई दिपेन्द्रले एलबी डब्लुको शिकार बनाएपछि चितवनका अर्का ओपनर पारस खड्कासँगको क्रिज साझेदारी टुटाए । मुस्तफा ९ रनमा खेलिरहेका थिए । पारसलाई पनि २३ रनमै पवेलियन पठाउने क्रममा अनिल खरेलको बलमा दिपेन्द्रले क्याच गरे । बावर हायातले इनिङ सम्हाल्ने क्रममा ३६ रन बनाए । अमित यादवको बलमा कप्तान ऐरीले नै क्याच गरेपछि चितवन सस्तैमा समेटिने अपेक्षा गरिएको थियो । बाबरले २८ बलमा ३ चौका र २ छक्का हिर्काए । अनिलकुमार साहको १९ रनको योगदान देखियो । दिपेन्द्र सिंह ऐरीको ४–०–४१–२ स्थिति रहदाँ अनिल खरेलले भने ४ ओभरमा १८ रन दिएर २ विकेट लिन सफल भए ।

पहिलो ओभरमै दुई विकेट गुमाएको एक्सपर्ट धनगढी तनाब र दबाव एकैसाथ झेल्न पुग्यो । सुभेन्दु पाण्डेलाई सन्नी पटेलले रन आउट गरे । श्रीमान्थ विजयारत्नेलाई करण केसीले एलबीडब्लु धरापमा पारे । ओपनर रोड्रिगो थोमस र चौथो नम्बरमा आएका कप्तान दिपेन्द्रसिं ऐरीले ५५ रनको महत्वपूर्ण साझेदारी गरे । थोमस व्यक्तिगत २४ रनमा आउट भए । ऐरी र सन्दीप जोराले पाँचौ विकेटको लागि ३८ रनको साझेदारी गरे । ऐरी बावर हायातको बलमा भुवन कार्कीको हातबाट क्याच हुदाँ अर्धशतक बनाउनबाट चुके । ४९ रनमा आउट भएका ऐरीले ४२ बल खेल्दै ४ चौका र २ छक्का हिर्काए ।

मध्यक्रमका व्याट्सम्यान लामो समय क्रिजमा टिक्नै सकेनन् । सन्दीप जोरा भुवन कार्कीको बलमा आउट भएपछि एक्सपर्ट धनगढीलाई लक्ष्य पछ्याउन सम्भव देखिएन् । जोराले २१ बल खेल्दै १ चौका र १ छक्का हिर्काएका थिए । अमित यादव अविजित रहँदै १७ रन बनाई ओभर टुग्याए । भुवन कार्कीले ३, करण केसी र सन्नी पटेलले समान २ विकेट लिए । म्यान अफ दि म्याचको हकदार आरिफ शेख भए ।