बौद्ध हिमाल गोरखामाथि त्रिवेणी लमजुङ गोलको वर्षा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १० गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगितामा युथ क्लब भीमादले प्रतिस्पर्धात्मक जितसँगै सेमिफाईनल सम्भावना बलियो बनाउँदा बाग्लुङ जिल्ला फुटबल संघ भने गैडाकोट खेलकुद विकास समिति नवलपुरको हातबाट ४–१ ले पराजित हुन पुग्यो । तेस्रो खेलमा भने त्रिवेणी क्लब लमजुङले भने बौद्ध हिमालय क्लब गोरखालाई ७–१ गोलले पन्छाएको छ ।

प्रदेश लिग कमिटिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको व्यवस्थापनमा पोखरा–२९ भण्डारढीकमा आयोजित प्रतियोगितामा शुक्रबार त्रिवेणी क्लब लमजुङले बौद्ध हिमालय गोरखामाथि ७–१ के फराकिलो गोल अन्तरले पराजित गर्ने क्रममा नवराज गुरुङले दुई, आशिक गुरुङले दुई तथा उज्वल शाही, हरि गुरुङ र अष्मिन गुरुङको नाममा एक एक गोल लेखिएको छ । शाहीको गोलबाट अग्रता लिएको त्रिवेणीले एकपछि अर्को गोल थप्दै गोरखालाई दबावमै राख्यो । उनले १५ औं मिनेटमा पहिलो गोल गरे ।

हरिले क्लबको लागि ३३ औं मिनेटमा दोस्रो गोल थपे । नवराजले भने ४५ र ४९ औं मिनेटमा गोल थप्दै फराकिलो अन्तरको जित निकाल्ने सम्भावनालाई बलियो बनाए । अष्मिन गुरुङको नाममा पनि ५५ औ मिनेटमा अर्को गोल लेखियो । ५७ औं मिनेटमा गोरखाले बिनु गुरुङले गोल फर्काउँदै इज्जत जोगाए । त्रिवेणीका आशिकले ६९ र ८० औं मिनेटमा गोल थपेपछि त्रिवेणी फराकिलो जितको हकदार बन्यो ।

युथ क्लब भीमादले पनि म्याग्दी जिल्ला खेलकुद विकास समितिलाई २–१ गोलले पराजित गर्दै सेमीफाईनल बलियो बनाएको छ । भीमादको जितमा विनोद घिमिरेले व्यक्तिगत दुई गोल गरे । उनकै नायकत्वमा तीन अंक जोड्यो । घिमिरेले भीमादलाई कमब्याक गराउने क्रममा ४१ र ७४ औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफमै म्याग्दीका लागि दिवस छन्त्यालले गोल गर्दै अग्रता दिलाएका थिए ।

बाग्लुङ फुटबल संघ पनि गैडाकोट खेलकुद विकास समिति नवलपुरको हातबाट पराजित हुदैं सेमीफाईनल पुग्ने सम्भावना कमजोर बनेको छ । आशिष महतोले ७ र ३१ औं मिनेटमा गोल गर्दै अग्रता दिए । १८ औं मिनेटमा आत्मघाती गोलको उपहारले पनि गैडाकोटलाई फराकिलो अन्तर बनाउन महत्वपूर्ण योगदान दियो । प्रविन गुरुङले ७३ औं मिनेटमा थपे । बाग्लुङका लागि प्रमेश थापाले ७६ औं मिनेटमा गोल फर्काएका थिए ।