सोमबार राष्ट्रिय स्की प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १७ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा तेस्रो संस्करणको राष्ट्रिय स्की प्रतियोगिता आगामी सोमबार हुदैं छ । प्रतियोगिताका मुक्तिनाथ मन्दिर परिसर नजिकै आयोजना गरिने छ । स्की प्रतियोगिताको लागि विभिन्न जिल्लाका स्की खेलाडीहरु मुक्तिनाथ मन्दिर परिसर बारागुँ क्षेत्र पुगिसकेका छन् ।

समुन्द्र सतहदेखि झन्डै ३७ सय मिटर उचाईको मुक्तिनाथ क्षेत्रमा नेपाल स्की संघले तेस्रो पटक यो प्रतियोगिता आयोजना गर्ने तयारीसहित टोली मुक्तिनाथ पुगिसकेको छ । कास्की जिल्ला स्की संघका अध्यक्ष क्या. रामप्रसाद गुरुङका अनुसार हिउँको मात्रा केही पातलो भएकोले केही ठाँउमा हिउँ मिलाउनुपर्ने छ । स्केटिङको लागि हिउँ ठाँउ ठाँउमा मिलाएर राख्नुपर्ने भएकोले दुईदिन अघि नै टोली मुक्तिनाथ आईपुगेको उनको भनाई थियो । प्रतिस्पर्धामा ४० जना एथलेट्सहरुको सहभागिता रहने छ । ‘शुक्रबार विहान हामीले स्थलगत हेरेर विभिन्न ठाँउमा रेकी गर्यौं’ उनले भने–‘दिउँसो फेरी एकपटक ठाँउहरुमा हिउँ मिलाउँदै तयारी गर्ने छौं ।’

अल्पाइन जुनियर र सिनियरमा महिला तथा पुरुष तर्फका इभेण्टमा प्रतिस्पर्धा गराईने छ । क्या.गुरुङका अनुसार अल्पाईन सलोलम अन्तर्गत जोईन्ट सलोलम प्रतिस्पर्धा समेत गराईने योजना छ । उनले अल्पाईन, बोर्ड र क्रसकन्ट्री जस्ता विधामा प्रतिस्पर्धा हुने छन् । ‘डेढदेखि दुई सय मिटरको भिरालो सतहमा स्कीको प्रतिस्पर्धा गराउँने छौं ।’ उनको भनाई थियो । अल्पाईन तर्फ दुवै खुट्टामा स्केट लगाईन्छ । बोर्डमा भने एउटै बोर्ड प्रयोग गरिने छ । क्रसकन्ट्री तर्फ १० देखि २० किलोमिटर क्षेत्रमा उकाली ओराली स्केट गरेर पार गर्नुपर्छ । जुनियर तर्फ १७ वर्ष माथि र १४ वर्षको उमेर समूहको समेत प्रतिस्पर्धा हने उनले जानकारी दिए ।

‘मुस्ताङमा गत वर्ष पहिलो र यो वर्ष दोस्रो पटक प्रतियोगिताको तयारीमा छौं ।’ उनले भने–‘सोमबार प्रतिस्पर्धा हुन्छ ।’ मुस्ताङमा वर्षेनी आयोजना गरिने स्की प्रतिस्पर्धाले खेल पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको छ । नेपाल स्की संघले पहिलो पटक २०१६ मा मा लाङटाङको केन्जेनमा पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको थियो ।
त्यसपछिको संस्करण मुस्ताङमा आयोजना गरिएको हो । नेपालमा लाङटाङ बाहेक माथिल्लो मनाङ, मुस्ताङ र दोलखाको कालिन्चोकमा पनि स्की खेलाउन सकिन्छ ।

समुन्द्री सतहदेखि ४ हजार मिटर माथि बाक्लो हिउँ पर्ने भएपनि हाइ अल्टिच्यूडका कारण पनि खेलाउन समस्या हुने विज्ञहरु बताउँछन् । मुुक्तिक्षेत्रमा आयोजना गरिएको स्कीले त्यस क्षेत्रमा साहसिक पर्यटन प्रवद्र्धन गर्न सघाउने विश्वास स्थानीय व्यवसायीहरु बताउँछन् । वर्षेनी आयोजना गरिने स्की प्रतियोगिताले मुक्तिनाथ धार्मिक पर्यटकीय हिसाबले मात्रै नभई खेल पर्यटनले समेत चिनाउने छ । file pic