पोखरामा ‘प्याराग्लाईडिङ वल्र्डकप–एशियन टुर २०२०’

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरामा आगामी फागुन ११ मा प्याराग्लाइडिङ वल्र्ड कप– एसियन टुर २०२० तथा १९ औं नेपाल ओपन प्याराग्लाईडिङ च्याम्पियनसिप हुदैै छ । नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघ र नेपाल प्याराग्लाईडिङ पाईल्टस क्लबको सहयोगमा पोखरामा पहिलो पटक प्याराग्लाईडिङको वल्र्डकप गर्ने तयारी गरिएको हो । ‘स्पोर्टस टुरिज्म’ प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित प्याराग्लाईडिङ वल्र्डकपले यस अघि पोखरामै दुई पटक प्रि– वल्र्डकप प्याराग्लाईडिङ च्याम्पियनसिप आयोजना भईसकेको छ ।

वल्र्डकपमा सहभागि हुने पाईलटले एफएआई(फेडेरेशन एरोनोटिक इन्टरनेशनल)बाट लाईसेन्स प्राप्त प्यारा पाईलटले मात्रै सहभागिता जनाउने पाउने प्रतियोगिताका संयोजक एवं नेपाल हवाई खेलकुद संस्थाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले जानकारी दिए । ‘एफएआईको लाईसेन्स प्राप्त एवं र्याङकिङमा रहेका पाईलटले वल्र्डकपमा सहभागिता जनाउन पाउने छन् ।’ उनले आईतबार आयोजित पत्रकार सम्मेलनमा बताए । नेपाली सेनाका पाईलट सागर जलारीले प्रतिस्पर्धा गर्ने छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि नेपाली सेनाले प्याराग्लाईडिङ तर्फ चासो दिदैं आएको छ ।

प्याराग्लाईडिङ वल्र्डकपमा ३० राष्ट्रका १ सय २५ पाईलटको सहभागिता रहने छ । नेपालसहित अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, बेल्जियम, युक्रेन, चीन, जापान, भारत, कोरिया, इरान, भियतनाम तथा चाईनिज ताईपेइबाट पाईलटहरुको सहभागिता रहने उनको भनाई थियो । संयोजक भट्टराईका अनुसार चीनबाट ११ जना पाईलटले प्रतिस्पर्धामा सहभागिता जनाउन आफनो नाम दर्ता गरिसकेका छन् । यद्यपी पछिल्लो समयमा कोरोना भाईरसको संक्रमण फैलिदैं गएको अवस्थामा चीनका पाईलटको सहभागितामा प्रश्न चिन्ह खडा भएको सन्दर्भमा संयोजक भट्टराईले अहिलेसम्म चीनिया पाईलट आउने कन्फर्म भएको स्पष्ट पारे । ‘चीनिया पाईलटले क्यान्सिल गरिसकेको जानकारी आईसकेको छैन् । यद्यपी अन्तिमसम्म निर्णयको प्रतिक्षामा छौं । अहिलेसम्म कन्फर्मकै अवस्था छ ।’ उनको भनाई थियो ।

एक्युरेसी र क्रसकन्ट्री विधामा प्रतिस्पर्धा हुने छ । क्रसकन्ट्रको लागि ७ टास्क पुरा गर्नुपर्छ । फागुन ११ गतेदेखि १७ गतेसम्म हुने प्रतिस्पर्धाको क्रसकन्ट्रीमा मौसमी समस्या आएको अवस्थामा एउटै दिनमा पाईलटले पुरा गरेको टास्क अनुसार क्रसकन्ट्रीको विजेता छानिने प्रतियोगिताका व्यवस्थापक विमल अधिकारीले जानकारी दिए । उनी २०१८ मा इण्डोनेसियमा आयोजित एशियन गेम्समा नेपालले क्रसकन्ट्रीमा रजत पदक जित्दा कप्तानी भूमिकामा थिए ।

वल्र्डकप गर्नको लागि ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश सरकारको सहकार्य रहने छ । पाईलटको उद्दार एवं सुरक्षा व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले लिएको छ । प्रत्येक दिनको टास्क पुरा गर्ने खेलाडीलाई उत्कृष्टताको आधारमा पदक प्रदान गरिने संयोजक भट्टराईले जनाए । प्रतिस्पर्धामा ओभरअल च्याम्पियनसिप खेलाडीसँगै दशौंस्थानसम्म आउने खेलाडीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने छ । महिला तर्फको विजेता एवं पाँचौसम्म आउने पाईलटको हकमा पनि ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । नेपाल हवाई खेलुकद संस्था(ना)का अध्यक्ष कृष्ण भण्डारीले हवाई रुट पर्ने ठाँउहरुमा समेत टास्क उडान गर्नुपर्ने भएकोले नागरिक उडड्यन प्राधिकरण समक्ष निवेदन दिइएको उल्लेख गरे ।