थापालाई सुर्य नेपाल वेष्र्टन ओपनको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-दुईवर्षपछि पोखराको हिमालयन गल्फ कोर्षमा आर्मी गल्फ क्लबका गल्फर धनबहादुर थापाले २० औं सस्करणको सुर्य नेपाल वेष्टर्न ओपन टुरको उपाधि जितेका छन् । शीर्ष बरियताका शिवराम श्रेष्ठलाई दुई स्ट्रोकले पछि पार्दै उपाधि जितेका हुन् ।

फ्रन्ट नाईनमा दुई अण्डर राखेका नेपाल आर्मी गल्फर थापाले सुर्य नेपाल वेष्टर्न ओपनको उपाधि उचाल्न पर्याप्त बन्यो । थापाले ५४ होल समाप्तीमा ४ अण्डर २०३ स्कोरको कार्ड बनाउँदै उपाधि उचाले । उनको वेष्टर्न ओपन उपाधि भने तेस्रो हो । यसअघि २०१५ र २०१७ मा उपाधि आफनो नाममा लेखाईसकेका छन् ।

शुक्रबारको अन्तिम दिन फ्रन्ट नाईनमा २ अण्डर खेल्दै ३२ को कार्ड बनाउँदै उपाधि यात्रामा थिए । तर व्याक नाईनमा लेभलपार खेल्दै उपाधि उचाल्न पर्याप्त बन्यो । १८ होलमा डबल बोगी खेपेपनि उनले फ्रन्ट नाईनमा गरेको प्रदर्शनले उपाधि पक्का बनायो । उनले नगद १ लाख २५हजार नगद राशी प्राप्त गरे ।

तेस्रो होलमा बर्डी हिर्काएपछि यात्रा सुखद रह्यो । त्यसपछि ९ औं होलमा उनको बर्डीले खेललाई उपाधि तर्फ टर्निङ गराईदियो । ‘तेस्रो होलमा हेजार्ड हाने । तर ग्रिनको ३० फिट परबाट पट छिर्यो ।’ उनले भने–‘ २१० यार्ड नवौं होलमा पनि बल ग्रिनमा पर्यो । जसले अर्को बर्डी हान्न सहज भयो ।’ नवौं होलमा गल्फरले प्रायमात्रै ग्रिनमा हान्छन् । बल होलभन्दा केवल १ फिटको दुरीमा झरेको उनले बताउँदै त्यसपछि कन्फिडेन्स बढेको प्रतिक्रिया दिए । १८ औं होलमा पहिलो सट ओबी हिर्काएका थिए । होलभन्दा बायाँ तर्फको बाँसघारीमा पुग्यो । ‘स्वीङ राम्रो भयो । सेन्ट्रल ओपन र इष्टर्न ओपनमा चार ओभरसहित चौथोस्थानमा टुग्याएका थिए ।’ उनले भने–‘ पोखरामा भने चार अण्डर खेल्दै उपाधि उचाले ।’

अन्तिम दिन शुक्रबार उत्कृष्ट लयमा रहँदै तीन अण्डर ६६ मा टुर टुंग्याएका शीर्ष बरियताका शिवराम श्रेष्ठ उपविजेतामा चिक्त बुझाए । उनले समग्रमा ३ अण्डर २०५ को स्कोरमा रहे । दोस्रो दिन तीन ओभर खेल्नु नै उनको लागि उपाधि होडबाट पछाडि धकेल्यो । श्रेष्ठले अन्तिम दिन तीन अण्डर ६६ को कार्ड बनाएपनि उपाधि भने उचाल्न पर्याप्त भएन् । चौथो होलमा बर्डी हिर्काउँदै उपाधि पछ्याईरहेका श्रेष्ठले पाँचौ र सातौंमा समेत बर्डी हिर्काए । फ्रन्ट नाईन उनले ३ अण्ड ३१ को कार्डबाट अगाडि बढे । दशौं होलमा बोगीको सामना गरेपछि उपाधि यात्रामा धक्का लाग्यो । १५ औं बर्डी हिर्काए । बाँकी होलमा उनले पार खेल्दै तीन अण्डर २०५ को कार्ड रहेर उपविजेतामा सुर्य नेपाल वेष्टर्न ओपन गल्फ टुर टुग्याए । दोस्रो दिनको खेल नै उनको लागि निकै खराब रह्यो । उनले ७५ हजार प्राप्त गरे ।

तेस्रो स्थानमा भने धराने गल्फर शुक्रबहादुर राई रहे । उनले ५४ होल टुग्याउँदा तीन ओभर २१० को कार्ड बनाउँदै नगद ५५ हजार जिते । उनले तीनै दिन एक –एक ओभर खेले । तेस्रो र नवौं होलमा बोगी खेल्दै फ्रन्ट नाईन २ ओभर ३६ खेले । व्याक नाईनमा एक अण्डर ३४ को कार्ड बनाउँदै अन्तिम दिन उनले १ओभर ७० को स्कोरमा टुग्याउन पुगे । उनले १२ होलमा बर्डी हिर्काए । १५ औंमा बर्डी हिर्काए । १८ औं होलमा भने बोगी खेप्न पुगे ।

चौथो स्थानमा जयराम श्रेष्ठ रहे । उनले ५४ होलको प्रतियोगिताबाट विट मार्ने क्रममा ५ ओभर २१२ मा टुग्याए । अन्तिम दिन १ ओभर ७० को कार्ड खेलेका थिए । पहिलो होलमै बोगीबाट अघि बढेका उनले तेस्रो होलमा फेरी अर्को बोगी खेपे । आठौं होलमा बर्डी हिर्काउँदै स्ट्रोक बचाए । १३ औं बर्डी हिर्काउँदा उत्साहित बनेका उनले १४, १५ औं होलमा बोगी खेप्दै लय गुमाए । उनले नगद पुरस्कार ४५हजार थापे ।

भुवनकुमार रोकाले पनि अन्तिम दिनको खेल पहिलो होलबाटै बोगीबाट थाले । ६ ओभर २१३को स्थितिमा रहेर टुर टुग्याउएका रोकाले फ्रन्ट नाईन दुई ओभर ३६ मा रहे । व्याक नाईनमा पनि उनले दुई ओभर ३७ खेल्दै शुक्रबार ४ ओभर ७३ खेलेका हुन् । सन्जय लामाले टाई खेल्ने क्रममा अन्तिम दिन दुई ओभर ७१ मा टुग्याएँ । लामा र रोकासँगै टाईमा रहेका निरज तामाङ भने ‘डिस्क्वालिफाईड’ भए । उनले १८ औं होलमा त्रिपल बोगी खेपे । तर स्कोर कार्डमा डबल बोगी उल्लेख गरेपछि उनलाई डिस्क्वाईलिफाईड गरिएको थियो ।

रवि खड्का सातौं स्थानमा रहे । उनले अन्तिम दिन ३ ओभर ७२ को कार्ड बनाउदा समग्रमा ९ ओभर २१६ को स्थिति टुर सके । आठौं स्थानमा भुवन नगरकोटी र रामकृष्ण श्रेष्ठ रहँदै नगद पुरस्कार २८ हजार प्राप्त गरे । उनीहरुको १० ओभर २१७ स्कोर थियो । विनोद तामाङ दशौं स्थानमा रहदैं प्रतियोगितामा नगद २५ हजार रुपैयाँ हात थापे । ३० जना प्रोबाट अन्तिम दिन कट जोगाउँदै २४ गल्फर प्रतिस्पर्धामा थिए । उपाधि विजेता थापालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले सुर्य नेपाल वेष्टर्न ओपन गल्फको उपाधि प्रदान गरेका थिए ।

एमेच्योर तर्फको उपाधि जितेन्द्र राईले जितेका छन् । उनले पहिलो दिन देखि नै अग्रता लिदैं उपाधि जोगाएका हुन् । उनले १८ ओभर २२५ को कार्ड बनाउँदै उपाधि जितेका हुन् । अन्तिम दिन पाँच ओभर ७४ को कार्ड बनाएका थिए । पहिलो दिन ५ ओभर ७४, दोस्रो दिन दिन ८ ओभर ७७ र अन्तिम दिन ५ओभर ७४ को कार्ड बनाउँदै उपाधि जितेका हुन् । दोस्रो स्थानमा सुरेश तामाङ रहे । उनले २५ ओभर २३२ को कार्ड बनाए ।

सुर्य नेपाल वेष्टर्न ओपन गल्फ विजेता गल्फरहरु
१) रमेश नगरकोटी– सन १९९९/२००२
२) दिपक थापा मगर–२०००/२००३
३) पशुपति शर्मा–२००१
४) दिपक न्यौपाने–२००४/२००६
५) शिवराम श्रेष्ठ–२००५/२०११/२०१२/२०१३/२०१६
६)मणि राई–२००८
७) रबि खड्का–२००९
८) सन्जय लामा–२०१०/२०१८
९) भुवन नगरकोटी–२०१४
१०) धनबहादुर थापा–२०१५/२०१७/२०१९