न्युरोड ब्लाष्टर्सलाई भेट्रान सुपर सिक्स क्रिकेटको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ३ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-माछापुच्छ«े क्रिकेट क्लबको आयोजनामा सञ्चालित सुपर सिक्स भेट्रान्स क्रिकेट प्रतियोगिताको उपाधि न्युरोड ब्लाष्टर्सले जितेको छ । शनिबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको फाईनलमा न्युरोडले मिराकल ग्लाडियटर्सलाई २७ रनले पराजित गर्दै उपाधि जितेको हो ।

न्युरोडले व्याटिङ गर्दै ७६ रन बनाएको थियो । विधान श्रेष्ठले १९ रन बनाए । रिजन प्रजले २२ रनको योगदान दिदाँ विजय राउतले भने १० रन हिर्काए । मिराकल भने ४९ रनमै समेटिएपछि न्युरोडको जित पक्का हुन पुग्यो । नुर इष्लामले मात्रै २८ रनको योगदान दिए ।

वाईन किङको मुख्य प्रायोजन र कफी बगानको सह प्रायोजनमा आयोजित प्रतियोगितामा न्युरोडले सांग्रिला भेट्रान्सलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । फाईनलको म्यान अफ दि म्याच रिजन प्रजु घोषित भए । म्यान अफ दि सिरिज भने न्युरोडका विधान श्रेष्ठ भए । उनले ८३ रन ३ विकेट लिएका थिए ।

प्रकाश क्षत्रीको कप्तानीमा रहेको स्याङजा रिवल्स, योगेश सुवेदीको कप्तानी रहेन फेवा वारियर्स, प्रकाश श्रेष्ठले नेतृत्व गरेको न्युरोड ब्लाष्टर्स, दिपेन्द्रप्रताप चन्दको कप्तानीमा रहेको सांग्रिला भेट्रान्स, विरेन पुनको कप्तानीमा रहेको वाईन किङ फाईटर्स, दिपेश खत्रीको कप्तानीमा रहेको मिराकल ग्लाडियटर्सले प्रतिस्पर्धामा उत्रिएका थिए । ३० वर्ष माथिको उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गराईएको यो पहिलो प्रतियोगिता हो ।

गत शनिबारदेखि आयोजना गरिएको प्रतियोगिताका विजेतालाई कास्की जिल्ला क्रिकेट संघका सचिव दिपेन्द्रप्रताप चन्द, संघका कोषाध्यक्ष चन्द्रकुमार गुरुङ, अम्पायर दिलिप अग्रहरी, पोखरा क्रिकेट एकेडेमी प्रालिका अध्यक्ष बमबहादुर कुँवर तथा नेपाल युवा खेलकुद विकास मञ्चका अध्यक्ष प्रदीप राउत लगायतले ट्रफी तथा पदक प्रदान गरेका थिए ।