विदेशीको पोल्टमा पोखरा म्याराथनको उपाधि (हालसम्मका विजेता र समय समेत )

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ३ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-जापानको कोमागाने शहरबाट दौडिन पोखरा आईपुगेका योसुके ताकानासीले पोखरा उपाधि लिएर फर्किएका छन् । जापानीज धावक ताकानासीको पहिलो सहभागिता थियो । पहिलो सहभागितामै उपाधि लिएर जापान फर्किए । यही १४ औं सस्करणको पुरस्कार राशी दोब्बर बनाइएको थियो ।

उनले ४२.१९५ किलोमिटरको दुरीलाई २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा दुरी पुरा गर्दै उपाधि जितेका हुन् । उनी म्याराथन जित्ने पहिलो अन्तराष्ट्रिय धावक हुन् । उनी पोखरासँग भगिनी सम्बन्ध गाँसिएको जापानको कोमागाने शहरबाट पोखरा दौडिनैका लागि आईपुगेका थिए । पोखरा म्याराथनमा विभागीय क्लबका धावकको बर्चस्व रहँदै आएको थियो । त्यो बर्चस्वलाई जापानीज धावकले तोडे । तर उनले पोखरा म्याराथनको कम समयको रेकर्ड भने आफनो बनाउन सकेनन् । नेपाली सेनाका धावक अर्जुनकुमार बस्नेतले छैटौं सँस्करणमा दुई घण्टा २५ मिनेट ०१ सेकेण्डको समयमा पुरा गरे । जुन रेकर्ड उनले १३ वर्ष अघि स्थापित गरेका हुन् ।

गत मंसिरमा आयोजित १३ औं दक्षिण एशियाली खेलुकद प्रतियोगिताको म्याराथनमा स्वर्ण पदक जितेका शसस्त्र प्रहरी बलका किरण बोगटी दोस्रो स्थानमा चिक्त बुझाए । उनले २ घण्टा २८ मिनेट ०८ सेकेण्डमा पुरा गरेका थिए । बोगटीले दौडको क्रममा सडकमा कुनैपनि प्रकारको अवरोध नभएको बताए । तर कमजोर व्यवस्थापनको शिकार हुन पुगे । उनले म्याराथनको संकेत राम्ररी नपाउँदा एकसयमिटर पर दौडिएर रुटमा फर्किन बाध्य भएका थिए । पोखरा रंगशालाबाट शुरु भएको दौड पृथ्वीचोकहुदैं छोरेपाटन फर्किएर विरौटा हुदैं ड्यामसाईड राष्ट्रबैंक देखि लेकसाईड, हल्लनचोक हुदैं मुख्य बजार क्षेत्र परिक्रमा गर्दै लेखनाथ पुगेर फेरी पोखरा रंगशालामै आएर टुंगिएको थियो ।

दश किलोमिटर दौडमा पनि खेलाडीले पोखरा रंगशाला छिरेपछि कताबाट घुम्ने भन्ने मेसो समेत नपाएको गुनासो गरेका थिए । केही खेलाडी पोखरा रंगशाला क्रिकेट मैदान नजिकैबाट घुम्नुपर्ने अवस्थामा क्रिकेट मैदान छिरेर फर्किएका थिए । तेस्रो स्थानमा भारतीय सेनामा कार्यरत पर्वतका अनिष थापा आए । उनले २ घण्टा २९ मिनेटको पुरा गरे । चौथो स्थानमा भने गणेशसिंह ठकुरी रहे । म्याराथन विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रो स्थानका थापाले ७५ हजार र चौथो स्थानमा रहेको ठकुरीले १५ हजार रुपैयाँ सन्त्वना स्वरुप प्राप्त गरे ।

१० किलोमिटर पुरुष तर्फको प्रतिस्पर्धामा स्याङजाका पूर्णबहादुर कार्की, मोरङका याङदेव राई र पर्वतका आशिष कुँवर रहे । महिला तर्फ धरानकी इन्द्रकला राई, सोलुखुम्बुकी अनिता राई र अमेरिकन धावक वेण्डीले तेस्रो स्थानमा रहिन् । उनी पनि पहिलो पटक पोखरा म्याराथनमा सहभागिता जनाउँदै तेस्रो स्थान कब्जा गर्न सफल भईन् । उनीहरुले पुरस्कार स्वरुप १५, १० र ५ हजार नगद प्राप्त गरेका छन् ।

१४ औं सस्करणसम्म आईपुग्दा १३ वर्ष अघि राखेको पोखरा म्याराथनको रेकर्ड भने तोडिएको छैन् । नेपाली सेनाका धावक अर्जुनकुमार बस्नेतले छैटौं म्याराथनमा राखेको २ घण्टा २५ मिनेट ०१ सेकेण्डको समयमा पुरा गर्दै उपाधि जितेका हुन् । जुन समय अहिलेसम्म तोडिएको छैन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा सिटी म्याराथनको अवधारणासँगै २०५८ सालदेखि पोखरा म्याराथनको शुरुवात गरिएको थियो । पोखरा म्याराथनको १४ औं सस्करणमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा रन फर फनमा सहभागि भएका थिए । ‘स्वास्थ्य, शान्ति, पोखरा र पर्यटनको लागि दौड’ भन्दै मुख्यमन्त्री गुरुङले पाँच किलोमिटर पुरा गरेको प्रतिक्रिया दिए ।

५ किलोमिटर छात्र तर्फको प्रतिस्पर्धामा विनोद गुरुङ प्रथम, विवेक परियार दोस्रो र प्रदीप भुजेल तेस्रो भएका छन् । त्यसैगरी छात्रा तर्फको प्रतिस्पर्धामा विनु विक प्रथम, प्रतिक्षा सुवेदी दोस्रो र माधुरीदेवी कुर्मी तेस्रो स्थानमा रहिन् । ह्वीलचियर प्रतिस्पर्धामा पुरुष तर्फ सुरेश गौली, भरत अधिकारी र खुमबहादुर पाण्डेले प्रथम, द्धितीय र तृतीयको पुरस्कार थापे । महिला तर्फ पुनम विक, धना मगर र लक्ष्मी सुनार क्रमश नगद ५, ३ र २ हजार प्राप्त गरे ।

दृष्टिविहीन दौडमा पुरुष तर्फ प्रमोद दाहाल, आशिष खड्गी र प्रेम क्षत्री प्रथम, द्धितीय र तृतीय भए । महिला तर्फ विनिता सुनार, सृजना परियार र सुकमाया विक प्रथम, दोस्रो र तेस्रो हुदैं क्रमश ५ , ३ २ हजार रुपैयाँ नगद प्राप्त गरे । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजना तथा सुजल डेरीको उत्पादन सफल दूधको प्रायोजनमा आयोजित पोखरा म्याराथनमा १०५ जना धावकले प्रतिस्पर्धा गरेका थिए ।

पोखरा म्याराथनका विजेता, समय र साल
आर्मी–खिमु गिरी । २ घण्टा २६ मिनेट ४२ सेकेण्ड( २०५८ पहिलो)
आर्मी–अर्जुनकुमार बस्नेत । २ घण्टा २५ मिनेट २८ सेकेण्ड(२०५९ दोस्रो)
आर्मी–आनन्दमान श्रेष्ठ । २ घण्टा २५ मिनेट ०५ सेकेण्ड( २०६० तेस्रो)
शसस्त्र प्रहरी–अक्कलबहादुर बोहोरा । २ घण्टा ३१ मिनेट( २०६१–चौथो)
आर्मी–रेवत दाहाल। २ घण्टा ३० मिनेट १३ सेकेण्ड(२०६२–पाँचौ )
आर्मी–अर्जुनकुमार बस्नेत–२ घण्टा २५ मिनेट ०१ सेकेण्ड(२०६३ छैटौं)
आर्मी–उत्तम खत्री–२ घण्टा २६ मिनेट ५६ सेकेण्ड(२०६४ सातौं
२०६५ मा १० किमी दौड मात्रै आयोजना गरिएको
आर्मी–मानबहादुर श्रेष्ठ । २ घण्टा ३८ मिनेट ३६ सेकेण्ड (२०६७–नवौं )
शसस्त्र प्रहरीका– नारायण थापा । दुई घण्टा ३२ मिनेट चार सेकेण्ड–(२०७२–१० औंं )
आर्मीका –नवराज साउद । २ घण्टा ३४ मिनेट २४ सेकेण्ड– (२०७३–११ औं)
नेपाल पुलिस– भूमिराज राई । २ घण्टा ३६ मिनेट ४२ सेकेण्ड–(२०७४–१२ औैं)
आर्मीका– हरिकुमार रिमाल । २ घण्टा ४० मिनेट १० सेकेण्ड–(२०७५–१३ औं)
जापान–यसुके ताकानासी । २ घण्टा २६ मिनेट ५१ सेकेण्ड(२०७६–१४ औैं)