आहा राराको १८ औं संस्करणमा लिग च्याम्पियन मछिन्द्र क्लबको अनुपस्थिति

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १० गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-यस वर्षको ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब पोखरामा दुईसाता पछि शुरु हुने १८ औं संस्करणको आहा रारा गोल्डकपमा उपस्थिति हुने छैन् । लिग च्याम्पियनको फुटबल हेर्ने अवसर भने पोखरेली दर्शकले अर्को वर्ष कुर्नुपर्ने छ । तर दर्शकले गतवर्ष भत्काईएको प्यारापिटमा बसेर फुटबल हेर्न पर्दैन् । नयाँ आधुनिक प्यारापिटमा बसेर गोल्डकप हेर्ने अवसर दर्शकले पाउने छन् ।

अखिल नेपाल फुटबल संघले एक महिनामा तीन ठूला प्रतिस्पर्धामा मात्रै सहभागिता जनाउन निर्देश गरेको छ । खेलाडी एउटा गोल्डकपदेखि अर्को गोल्डकपसम्म दौडधुप र हतारिनुपर्ने अवस्थाले एक महिना तीन प्रतियोगिता भन्दा बढी नखेल्न निर्देश छ । खेलाडीको थकानलाई मध्यनजर गर्दै यो प्रावधानले आहाको यो संस्करणमा मछिन्द्र क्लबको उपस्थिति नहुने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले शनिबार आयोजित पत्रकार सम्मेलनमा सुनाए । उनका अनुसार पत्रचार गरेपनि एन्फाको प्रावधान अनुसार उपस्थिति नहुने पक्का भएको हो ।

यो वर्ष १० टिमले मात्रै प्रतिस्पर्धा गर्ने छन् । तीन विभागीय क्लबसँगै उपाधिको लागि रुस्लान थ्रीस्टार, नेपाल आयल निगम मनाङ मस्याङ्दी क्लब, बिग्रेड ब्वाईज क्लब, संकटा क्लब, झापा ११ फुटबल क्लब, गान्तोक सिटी फुटबल क्लब भारत र आयोजक सहारा क्लबसँग प्रतिस्पर्धा हुने छ । उपाधि प्रतिस्पर्धाको लागि पोखरा रंगशाला फुटबल मैदान एवं प्यारापिट तयारी हुदैं छ । फागुन २२ गतेदेखि शुरु हुने प्रतियोगितामा १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट सिट तयारी हुने विश्वास छ ।

क्लबले यो वर्ष पुरस्कार राशी पनि बृद्धि गरेको छ । विजेताले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले भने ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यसैगरी सर्वोत्कृष्ष्ठ खेलाडी प्रायोजन अप्रिला स्कुटर प्रदान गरिने छ । पत्रकार सम्मेलनमै सहारा युकेले बेष्ट फाईभलाई प्रदान गरिने ट्रफी सहारा क्लबलाई हस्तान्तरण गर्यो । क्लबका अध्यक्ष थापालाई सहारा युकेका महासचिव धनु थकाली एवं सल्लाहकार महेश गुरुङले ट्रफी हस्तान्तरण गरेका हुन् । सहारा युकेले प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ प्रदान गर्न सहयोग गरेको छ । उदघाटन समारोहमै क्लबले ‘सर्वोत्कृष्ठ राष्ट्रिय फुटबल खेलाडी सम्मान –२०७६’ बाट एकजना खेलाडीलाई सम्मान गर्ने जनाएको छ । खेलाडी सम्मानलाई कास्की जिल्ला फुटबल संघका पुर्व अध्यक्ष खेमबहादुर गुरुङले प्रायोजन गरेका हुन् । पुरस्कार राशी ३५ हजार, सम्मानपत्र र दोसल्ला रहेको छ ।

हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको गोल्डकपलाई विभिन्न संघसंस्थाले सहप्रायोजन तथा उपप्रायोजन एवं प्रायोजन गर्दै आएका छन् । दोस्रो पुरस्कारको प्रायोजन हिमा–अस कन्सल्टेन्सी, बेष्ट अफ फाईभको पुरस्कारलाई पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि, फेयर प्ले पुरस्कार प्रायोजन रोयल इन्फिल्ड बुलेट बाईक, सर्वाधिक गोलकर्ता पुरस्कारलाई सनराईज ड्राइभिङ स्कुल प्रालि लगायतले प्रायोजन गरेका छन् ।

एक करोड १८ लाख रुपैयाँ कमाई गर्ने लक्ष्य समेत क्लबले लिएको छ । रकम बचत गर्दै पोखरा–१७ दोविल्लामा स्थापित सहारा एकेडेमीमा आश्रित २४ जना बालको लालनपालन, पोषणसँगै शिक्षादिक्षामा क्लबले खर्च गर्दै आएको छ । क्लबले एकेडेमी सञ्चालन गर्ने मुख्य आधार नै गोल्डकपलाई लिएको छ । विभिन्न संघसंस्थाले एकेडेमीलाई समेत सहयोग गर्दै आएका छन् । अक्षयकोष समेत स्थापना गरिएको छ ।