बन्यो पूर्वाधार, संरक्षणमा चुनौति

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १२ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-ठ्याक्कै एकवर्ष अघि पोखरा रंगशाला फुटबल मैदानको पुर्ननिर्माण गर्न शिलान्यास गरिएको थियो । तेस्रो पटकको म्याद थप्दा निर्माणको अन्तिम चरणमा पुगेको छ । १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट लगभग तयारी भईसकेको छ । मैदान पुर्ननिर्माण गरिएको छ । ३ हजार ५ सय सिट थप्दै २० हजार पुर्याउने योजना छ । गत वर्ष फागुन २६ गते शिलान्यास गरिएको हो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले शिलान्यास गरेका थिए । शिलान्यासको वर्षदिनपछि यो अवस्थासम्म आईपुगेको छ । अब अफिसियल भवन बनाउन बाँकी छ । भिआईपी प्यारापिटमा छानो छाउने काम छ । भवन बनाउन कम्पनीले केही महिना लाग्ने जनाउँदै असार मसान्तसम्म हस्तान्तरण हुने गरी काम टुग्याउने योजनामा छ । पोखरा रंगशाला फुटबल मैदानसहित प्यारापिट निर्माणको जिम्मेवारी भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)ले लिएको हो ।

पहिलो म्याद असार मसान्त(२०७६)सम्म थियो । दोस्रो पटक म्याद थप्दै कार्तिक मसान्त पुर्याईयो । मंसिर १५ गतेदेखि २४ गतेसम्म १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना गरियो । महिला फुटबल पोखरा रंगशालामै निर्माणाधिन मैदानमा खेलाईयो । त्यसपछि फेरी म्याद थपियो । म्याद फागुन मसान्तसम्म छ । फागुन मसान्तसम्म प्यारापिटको काम टुग्याउने योजना कम्पनीको छ । त्यसपछिको म्यादमा भने पूर्व तर्फ अफिस भवन बनाईने छ । पूर्ननिर्माण गरिएसँगै पोखरा रंगशाला फुटबल मैदानमा दोस्रो पटक फुटबल प्रतियोगिता हुदैं छ । गत मंसिर १५ देखि २४ गतेसम्म १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला फुटबल प्रतियोगिता आयोजना गरियो । त्यसको तीन महिनापछि फेरी आहा राराको १८ औं सस्करण हुदैैैं छ । १ अर्ब २८ करोडको लागतमा पूर्वाधार हो । पूर्वाधार तयारसँगै थपिएको छ संरक्षणको चुनौति ।

स्टिल मोडुलर सिष्टमको प्यारापिट छ । सिन्थेटिक ट्रयाक । १७ वटा शौचालय छन् । हिजो रंगशालामा शौचालय कम थिए । अहिले फुटबल मैदानकै वरिपरी १७ वटा बनाईएको छ । प्रत्येक खेल संरचना बनाइएको ठाँउमा शौचालय छन् । निर्माण गरिएको पूर्वाधारलाई संरक्षण र सम्बद्र्धन गर्नुपर्ने दायित्व र चुनौति भने थपिएको छ । राष्ट्रिय खेलकुद परिषदले संरक्षण र प्रयोग गर्ने ठोस योजना बनाईसकेको छैन् । निर्माण भएर परिषदलाई हस्तान्तरण भएपछि संरक्षणको दायित्व र जिम्मेवार जिल्ला खेलकुद विकास समिति कास्कीले आवश्यक नीति बनाउने जनाएको छ । ‘रंगशाला प्रयोगको शुल्क लिईदैन् । तर कुनैपनि प्रतियोगिता आयोजना गर्ने आयोजकले भने संरक्षणको दायित्व र जिम्मेवारी लिनुपर्छ ।’ जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘पूर्वाधार बनाएर मात्रै हुदैन् त्यसको संरक्षण गर्ने दायित्व र जिम्मेवारी सबैले लिनुपर्छ ।’

प्रतियोगिताको समयमा सरसफाई गर्नुपर्छ । शौचालयदेखि प्यारापिटको सरसफाई गर्नु पर्ने हुन्छ । त्यसको लागि आयोजकले नै कर्मचारी परिचालन गर्नुपर्ने कार्यालय प्रमुख बरालको भनाई थियो । ‘आयोजकले कर्मचारी व्यवस्थापन नगरे सरसफाई गर्दा लागेको खर्च व्यहोर्नुपर्छ ।’ उनले भने–‘मैदानदेखि प्यारापिटको लागि सेक्युरिटी गार्ड नै व्यवस्था गर्नुपर्ने हुन्छ ।’ विजुली, पानी लगायतका अत्यावश्यक समेत जिल्ला खेलकुद विकास समितिले व्यवस्थापन गर्ने बताउँदै उनले त्यसको लागि पनि सम्बन्धीत आयोजकले भार बहन गर्नुपर्ने स्पष्ट पारे ।

फुटबलसँगै लन टेनिसको पूर्वाधार तयार गरिएको छ । व्याडमिन्टन संघले आफैंले व्यवस्थापन गरेको छ । आर्चरीको पनि पूर्वाधार छ । बहुउद्देश्यीय कर्भड हल सुधार गर्नुपर्ने अवस्थामा छ । साढे १५ करोडको लागतमा बनाईएको कभर्ड हलमा दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला तथा पुरुष ह्याण्डबल आयोजना गरिएको थियो । ‘पूर्वाधार संरक्षणको चुनौति छ । त्यसको लागि सबै सरोकार निकायसँग बसेर छलफल गरेर निर्णय गर्ने छौं ।’ राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले भने–‘योजना छन् । तर अहिले नै सार्वजनिक गर्न सकिदैन् । अझै छलफलमै छौं । छलफल र राय सुझाव अनुसार नै पूर्वाधारको उपयोग गर्ने स्पष्ट खाका बनाउँछौं ।’ उनका अनुसार मैदान प्रयोग वापत शुल्क लिने तयारी छ । कर्मचारी नै व्यवस्थापन गरेर रेखदेख गर्ने योजना समेत रहेको उनको भनाई थियो ।

पूर्वाधारको मर्मत सम्भार गर्न निकै खर्चिलो हुन्छ । आयस्रोत छैन् । मैदान उपयोग गर्ने विभिन्न संघसंस्थासित नै शुल्क उठाउने योजना छ । व्यवसायिक प्रयोजन र संस्थागत प्रयोगलाई स्पष्ट नीति बनाइने उनको भनाई छ । ‘केही कुरामा तयारी गरिएको छ । केही छलफलमै छ ।’ उनले भने–‘त्यसैले अहिले नै ठोस योजना यो छ भनेर भन्न सकिन्न । सबैको सहयोग र सल्लाह गरेर निष्कर्षमा पुग्छौं ।’ पूर्वाधारयुक्त पोखरा रंगशाला ‘बाँदरको हातमा नरिवल’ जस्तो नहोस ।