स्याङजामा अन्तर नगरपालिका स्तरीय पुरुष भलिबल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १२ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-स्याङजाको पुतलीबजार नगरपालिकाले नगर युवा तथा खेलकुद विकास समिति(सञ्जाल) गठन गरिसकेको छ । गठित सञ्जालले पुतलीबजार नगरपालिका कप पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दै छ । गठनसँगै सञ्जालले पहिलोपटक अन्तर नगरपालिका स्तरीय भलिबल प्रतियोगिता यही फागुन २५ गतेदेखि सञ्चालन गर्ने छ ।

सञ्जालका अध्यक्ष डोलबहादुर मल्लका अनुसार प्रतियोगिता आँधीखोलाको तीर मालेबगर खेल मैदानमा सञ्चालन गर्ने छ । स्याङजामा व्यवस्थित खेल मैदान भने छैन् । आँधीखोलाको तीरमा रहेको मैदानलाई व्यवस्थित बनाउँदै सञ्जालले पहिलो पटक ‘पुतलीबजार कप अन्तर नगरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०७६’ आयोजनाको जमर्कोसँगै तयारी गरिरहेको छ । झण्डै दुईसातापछि शुरु हुने प्रतियोगितालाई बेष्ट अफ फाईभमा खेलाईने छ ।

‘समावेश टिमको आधारमा लिगकम वा नकाउट खेलाउने भन्ने बारे टुंगो लाग्छ’ प्रतियोगिताका संयोजक राजेन्द्र शर्माले भने–‘१८ टिमसम्म भए लिगकम नकाउटमा खेलाईने छ ।’ टिमले बेष्ट अफ फाईभ खेल्ने छन् । प्रतियोगितालाई पुतलीबजार नगरपालिकाले मुख्य प्रायोजन गरेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ । उपविजेताले १ लाख रुपैयाँ ,तेस्रो स्थानमा रहने टिमले नगद ५०हजार र सान्त्वना हुने टिमले भने नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने उनले जानकारी दिए । त्यसैगरी विधागत रुपमा समेत खेलाडीलाई पुरस्कृत गरिने छ । उत्कृष्ट खेलाडीले नगद १५ हजार प्राप्त गर्ने छन् । उत्कृष्ट स्पाईकर, सेटर, ब्लकर, डिफेण्डर, सर्भर र प्रशिक्षकलाई पनि जनही ७ हजार ५ सय रुपैयाँले पुरस्कृत गरिने छ ।

प्रत्येक टिममा प्रशिक्षक र व्यवस्थापकसहित १४ जना खेलाडी तथा अफिसियल रहने व्यवस्था छ । सहभागि खेलाडी सम्बन्धीत नगरपालिकाकै हुनुपर्ने प्रावधान आयोजक पुतलीबजार नगरपालिका नगर युवा तथा खेलकुद विकास समिति(सञ्जाल)ले जनाएको छ । प्राथमिक उपचार आयोजकले गर्ने व्यवस्था छ भने गम्भीर चोट लागेको अवस्थामा भने सम्बन्धीत सहभागि क्लबले नै व्यवस्था गर्नुपर्ने उल्लेख छ ।