महिला राष्ट्रिय हक्की, गण्डकी र प्रदेश नं ५ सेमिफाईनल भेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको सेमिफाईनलमा नेपाल आर्मीले सुदुर पश्चिमसँग खेल्ने छ भने दोस्रो सेमिफाईनल भेट प्रदेश नं ५ ले गण्डकी प्रदेशसँग पक्का भएको छ ।

उदघाटन खेलमा नेपाल आर्मीसँग पराजित हुदैं कमजोर शुरुवात गरेको गण्डकी प्रदेशले सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको तेस्रो दिन सोमबार सुधारिएको प्रदर्शन गर्दै सेमिफाइनल प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालास्थित आर्चरी खेलमैदानमा आयोजित प्रतियोगिताको तेस्रो दिन गण्डकी प्रदेशले प्रदेश नं १ लाई फराकिलो अन्तरले पराजित गर्ने क्रममा १२–० गोलको नजितासँगै टुंगियो ।

गण्डकी प्रदेशका लागि देविका विकको उत्कृष्ट प्रदर्शन रह्यो । उनकै प्रेरणादायी खेलमा प्रदेशले फराकिलो जित निकाल्यो । उनले एक्लैले ५ गोल गरिन् । सर्वाधिक गोलकर्ताका सूचीमा उनी अगाडि छन् । पहिलो हाफमा ६ र दोस्रो हाफमा ६ गोल गर्यो । देविकाकै गोलबाट खाता शुरु गरेको गण्डकी प्रदेशले पहिलो गोल ७ औं मिनेटमा गरेको थियो । ८ औं मिनेटमा अर्को गोल थपियो । नानु गुरुङको नाममा लेखियो । १२ औं मिनेटमा देविकाले नै व्यक्तिगत दोस्रो गोल गरिन् । १६ औं मिनेटमा अर्को गोल थपियो । मयुरी राईले गोल हिर्काईन् । १८ र २९ औं मिनेटमा सोनु बरालले गोल गर्दै पहिलो हाफमै गण्डकी प्रदेशले ६ गोलको अग्रता कायम गर्यो ।

३९ औं मिनेटमा निलिमा पाण्डेले गोल थप्न शुरु गरिन् । त्यसपछि देविकाले ४०, ४२ र ४८ औं मिनेटमा लगातार गोल हिर्काउँदै सर्वाधिक गोलकर्ताका सूचीमा आफुलाई अग्रस्थानमा राखिन् । मनिता रानामगरले पनि ४९ मिनेटमा गोल गर्दै गोल गर्ने खेलाडीको सूचीमा आफुलाई उभ्याईन् । अन्तिम गोल भने ५८ औं मिनेटमा निलिमा पाण्डेले गरिन् । खेलको वुमन अफ दि म्याच देविका विक घोषित भईन् । उनी अघिल्लो खेलमा भने उपस्थिति थिईनन् ।

दोस्रो खेलमा सुदुर पश्चिमले प्रदेशनं २ लाई १–० गोलले पराजित गर्दै सेमिफाईनल ढुक्क बनाएको हो । पहिलो हाफ गोल रहित टुंगिएको थियो । दोस्रो हाफमा सुदुरपश्चिमले स्कोर निकाल्दै जित पक्का बनायो । ४२ औं मिनेटमा ज्योति काफ्लेले गोल गर्दै जित निकाल्दै सेमिफाईनल प्रवेश गर्यो ।