१८ औं सस्करणको आहा रारा गोल्डकप, सहारा र बिग्रेड ब्वाईजको उदघाटन खेल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २० गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-वर्षदिनको प्रतिक्षापछि फेरी एक पटक पोखरा फुटबलमय बन्दै छ । मोफसलकै प्रतिष्ठित गोल्डकप आहा राराको १८  औं सस्करण भोलि बिहीबारदेखि शुरु हुदैै छ । नवनिर्मित पोखरा रंगशाला फुटबल मैदानसहितको आधुनिक प्यारापिटमा बसेर फुटबल हेर्ने सपना साकार भएको छ । अघिल्लो वर्ष भत्काउँदै गरिएको प्यारापिटमा बसेर फुटबल हेर्ने दर्शकलाई अहिले भने आधुनिक प्यारपिटमा बसेर हेर्ने अवसर पाउँदै छन् ।

बिहीबार प्रतिक्षाको घडी २ बजेबाट सकिने छ । घरेलु क्लब सहाराले बिग्रेड ब्वाईज क्लबसँग उदघाटन खेल खेल्दै १८ औं संस्करणको फुटबल प्रतियोगिता शुरु हुने सहारा क्लबले मंगलबार आयोजित पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक गर्दै सुनायो । उदघाटनको विजेताले बुढासुब्बा गोल्डकप उपविजेता नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो दिन विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफरले झापा ११ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने खेल तालिका तय गरिएको छ ।

यतिबेला सबै क्षेत्र कोरोना भाईरसको संक्रमणले सताएको छ । विदेशी टोली आगमनमा कठिनाई छ । नेपालगन्जमा आयोजित प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा भारतीय टोली सहभागिता जनाउन सकेनन् । पोखराको फुटबलमा पनि भारतीय टिमको सहभागिता अन्यौल छ । यद्यपी सहारा क्लबले यही फागुन २६ गते गान्तोक सिटी क्लब भारतले थ्रीस्टार क्लबसँग खेल्ने तालिका छ । गान्तोकको उपस्थिति नभएको अवस्थामा क्लबले नयाँ क्लबलाई समावेश गर्ने जनाएको छ ।

यो वर्ष १० टिमले मात्रै प्रतिस्पर्धा गर्ने छन् । तीन विभागीय क्लबसँगै उपाधिको लागि रुस्लान थ्रीस्टार, नेपाल आयल निगम मनाङ मस्याङ्दी क्लब, बिग्रेड ब्वाईज क्लब, संकटा क्लब, झापा ११ फुटबल क्लब, गान्तोक सिटी फुटबल क्लब भारत र आयोजक सहारा क्लबसँग प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । फागुन २२ गतेदेखि शुरु हुने प्रतियोगितामा १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिट सिट तयार भईसक्ने छ ।

क्लबले यो वर्ष पुरस्कार राशी पनि बृद्धि गरेको छ । विजेताले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले भने ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यसैगरी सर्वोत्कृष्ष्ठ खेलाडी प्रायोजन अप्रिला स्कुटर प्रदान गरिने छ । पत्रकार सम्मेलनमै सहारा युकेले बेष्ट फाईभलाई प्रदान गरिने ट्रफी यसअघि नै हस्तान्तरण गरिसकेको छ ।सहारा युकेले प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ प्रदान गर्न सहयोग गरेको छ । उदघाटन समारोहमै क्लबले ‘सर्वोत्कृष्ठ राष्ट्रिय फुटबल खेलाडी सम्मान –२०७६’ बाट नेपाली राष्ट्रिय फुटबलका कप्तान सुजल श्रेष्ठलाई सम्मान गरिने छ । खेलाडी सम्मान कास्की जिल्ला फुटबल संघका पुर्व अध्यक्ष खेमबहादुर गुरुङले प्रायोजन गरेका हुन् । पुरस्कार राशी ३५ हजार, सम्मानपत्र र दोसल्ला रहेको छ ।

हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको गोल्डकपलाई  विभिन्न संघसंस्थाले सहप्रायोजन तथा उपप्रायोजन एवं प्रायोजन गर्दै आएका छन् । दोस्रो पुरस्कारको प्रायोजन हिमा–अस कन्सल्टेन्सी, बेष्ट अफ फाईभको पुरस्कारलाई पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि, फेयर प्ले पुरस्कार प्रायोजन रोयल इन्फिल्ड बुलेट बाईक, सर्वाधिक गोलकर्ता पुरस्कारलाई सनराईज ड्राइभिङ स्कुल प्रालि लगायतले प्रायोजन गरेका छन् । एक करोड १८ लाख रुपैयाँ कमाई गर्ने लक्ष्य समेत क्लबले लिएको छ । रकम बचत गर्दै पोखरा–१७ दोविल्लामा स्थापित सहारा एकेडेमीमा आश्रित २४ जना बालको लालनपालन, पोषणसँगै शिक्षादिक्षामा क्लबले खर्च गर्दै आएको छ । यसैगरी लुम्बिनी विकास बैंकका पुर्व अध्यक्ष शुशिलराज पराजुलीले एकेडेमीको लागि दुईलाख २० हजार ८ सय रुपैयाँ हस्तान्तरण गरेका छन् । file pic