क्रिकेट मैदान र कभर्ड हलमा सिट राख्ने टेण्डरको म्याद फेरी थपियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ४ गते २०७७ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाभित्रको क्रिकेट मैदानको स्तरोन्नति गर्न आह्वान गरिएको टेण्डरको म्याद तेस्रो पटक थपिदाँ बहुउद्देश्यीय कभर्ड हलमा सिट राख्ने टेण्डर पहिलो पटक म्याद थप गरिएको छ । क्रिकेटको र सिट राख्ने टेण्डर म्याद एक साता थपिएको छ ।

क्रिकेट मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउन र कभर्ड हलमा २ हजार सिट राख्न गत चैतमा टेण्डर आह्वान गरिएको थियो । कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै लकडाउन गरिएको थियो । लकडाउनकै समयमा आह्वान गरिएको टेण्डरले म्याद थप्दै लैजानुपर्ने परिस्थिति सृजना भएको हो । ‘लकडाउन लम्बिदैं गएको छ ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले भने–‘लकडाउन थपिदैं गएपछि टेण्डरको म्याद थपिदैं गयो ।’ टेण्डरप्रति केही कम्पनीले चासो दिएपनि लकडाउनकै कारण ईच्छा जाहेर गर्न सकिरहेका छैनन् । गण्डकी प्रदेशमा केही खुकुलो गर्ने उदघोष गरिएपनि काम गर्ने सम्भावना भने लकडाउन सकिएपछि मात्रै सम्भव हुने विश्वास छ ।

क्रिकेट मैदानको लागि ३ करोड रुपैयाँ छुट्टाइएको छ । छुट्टाइएको बजेट अनुसार राष्ट्रिय खेलकुदख परिषदले टेण्डर आह्वान गरेको हो । मैदानको पीच पूर्ननिर्माण गर्नेदेखि तारबार लगाउनेसम्मको काम गर्ने उल्लेख छ । मैदान संरक्षण गर्न तारजाली(फेन्सिङ) लगाउने, नाला निर्माण गर्ने, दक्षिणी भेगमा पभेलियन बनाउने लगायतका कामहरु गरिने छ । मैदान मापदण्ड अनुसार बनाई आवश्यक फेन्सिङ लगाएर संरक्षण गर्नुपर्ने देखिएको छ । फेन्सिङ नहुदाँ असम्बन्धित व्यक्तिहरुको प्रवेशले समस्या सृजना हुदै आएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ ।

क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीका अनुसार यो आर्थिक वर्षमा हलको लागि ५ करोड रुपैयाँ छुट्टिएको छ । छुट्टिएको बजेटबाट सिट जडान, साउण्ड सिष्टम व्यवस्थापन तथा अन्य डोकोरेशनका कामहरु गरिने उनले बताए ।

परिषदले सिट जडानको लागि टेण्डरको अन्तिमम्याद आगामी मे १७ तारिख तोकेको छ । सिट जडानको लागि झण्डै दुई करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सिट व्यवस्थापन पछि दर्शकले खाली सिमेण्टमा बसेर प्रतियोगिता हेर्नुपर्ने बाध्यताको भने अन्त्य हुने छ । निकालिएको टेण्डरमा कम्पनीले पछिल्लो दशवर्षदेखि काम गर्दै आएको छ तीन वर्षमा ३३.२ मिलियनको टर्न ओभर गरेको हुनुपर्ने प्रावधान छ ।

१५ महिनमा निर्माण पुरा गर्ने लक्ष्यसहित रंगशालामा बहुउद्देश्यीय कभर्डको शिलान्यास गरिएको थियो । तत्कालिन सदस्य सचिव युवराज लामाले २०७१ बैशाख दोस्रो साता शिलान्यास गरेका थिए । २०७२ को विनासकारी भूकम्प र त्यसपछिको नाकाबन्दीकै कारण निर्माणमा ढिलाई भएको थियो । १४ करोड ३० लाख रुपैयाको लागता निर्माण सक्ने लक्ष्य रहेपनि पटक पटक म्याद थपिदैं टुंग्याउँदा १५ करोड ६० लाख रुपैयाँ खर्च भएको थियो । पोखरा रंगशालामा निर्माणाधिन बहुउद्देश्यीय कभर्ड हल नेपालकै ठूलो रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जनाए । प्राविधिकका अनुसार २१५६ सिट क्षमताको छ । कभर्ड हलको ७७ मिटर लम्बाई र ५० मिटर चौडाईको छ ।