सुस्तायो सेपाक ताक्रो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १० गते २०७७ मा प्रकाशित



खेलाडी न्युज(पोखरा)-१८ वर्षअघि भित्रिएको सिंगापुरे खेल सेपाक ताक्रो पछिल्लो समय पोखरामा सुस्ताउँदै गएको छ । घरको आँगनमा खेल्न मिल्ने यो खेलको चर्चा विस्तारै हराउँदै गएको छ ।
नियमित प्रशिक्षण छैन् । प्रशिक्षण गर्ने खेलाडी छैनन् । प्रशिक्षण गराउने स्थल पनि छैन् । राष्ट्रिय खेलकुद परिषद, जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति(गण्डकी प्रदेश खेलकुद परिषद)ले खेलको विकास र विस्तारमा चासो दिएका छैनन् । परिषद र खेलकुद समितिले चासो नदिदाँ अन्तराष्ट्रिय पदक जित्ने सम्भावित खेल सेपाक ताक्रो यतिबेला ओझेलमा छ । युवा पुस्तालाई आकर्षित गर्नै सकिएको छैन् ।
‘खेलको विकास हुन चासो हुनु जरुरी छ । चासो परिषद र खेलकद समिति कसैको छैन् ।’ सेपाक ताक्रोको राष्ट्रिय प्रशिक्षक मोहन गुरुङले भने–‘चासो नदिदाँ प्रचारप्रसार नै भएन् । प्रचारप्रसार नहुदाँ खेलाडी खेल्नै आउँदैनन् । टे«निङ ग्राउण्ड पनि छैन् ।’ उनको भनाई अनुसार हुन त सानो ठाँउमा पनि खेल्न र सिकाउन सकिन्छ, तर सानो ठाँउपनि पोखरा रंगशालाभित्र उपलब्ध गराउने चासो समितिले देखाउँदैन् । सेपाक ताक्रो संघ कास्कीले पनि खेलको विकास गर्ने तर्फ तात्न नसकेको गुनासो उनको थियो । खेलकुदभित्र बस्ने पदाधिकारीले पनि खेल नबुझ्दा ओझेलै रहेको दावी उनले गरे ।
‘जब राती तब बुढी ताती’ नेपाली उखानै छ सेपाक ताक्रो खेल । राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु अघि मात्रै तात्ने प्रवृत्ति छ । त्यसपछि खेलको अवस्था शून्यता प्राय छ । नियमित रुपमा प्रतियोगिता समेत आयोजना हुदैनन् । आयोजना नहुदाँ खेलाडीले खेल्ने अवसर समेत पाउँदैनन् । खेलको एक्पोज समेत नभएको अवस्थामा युवा पुस्ताको सेपाक ताक्रोप्रति अभिरुची समेत बढ्न सकेको छैन् । ‘खेल र खेलाडीलाई व्यवस्थित गर्न सकिएको छैन् ।’ उनले भने–‘खेललाई व्यवस्थित गर्न सके खेलाडी व्यवस्थित हुने थिए । खेलाडीलाई व्यवस्थित गराउन नियमित प्रतियोगिता आयोजना गर्न सकिएको छैन् । खेल संघले ध्यान दिन सकेको छैन् ।’
प्रतियोगिता आयोजना गर्न लाग्ने खर्च जुटाउन सकिएको छैन् । सेपाक ताक्रो बुझ्ने खेल संघका पदाधिकारी हुनुपर्नेमा जोड दिदैं उनले खेल नै नबुझ्ने संघ र समितिका पदाधिकारीबाट विकासको अपेक्षा गर्नै नसकिने गुनासो पोखे । २०५८ सालबाट पोखरामा शुरुवात भएको सेपाक ताक्रो २०६४ सालमा राखेपमा विधिवत दर्ता भएको हो । सिंगापुरे लाहुेर बिदा मनाउन आउने क्रममा सेपाक ताक्रो खेल पोखरा भित्रयाएका हुन् । पोखराको अमरसिंह चोकमा खेल्न शुरु गरेपछि विस्तारहुदैं डेढदशकमै राष्ट्रियस्तरमा आफनो छवि बनाउन सफल भएको थियो । तर अहिले ओझेलमा छ ।
अन्तराष्ट्रिय पदक जित्ने सम्भावित खेल भएपनि कसैको ध्यान पुग्न सकेको छैन् । पाँच वर्ष अघिमात्रै थाइल्याण्डमा भएको प्रतिस्पर्धामा नेपालले कास्य पदक जितेको थियो । खेलप्रति ध्यान नपुग्दा राष्ट्रियस्तरका सेपाक ताक्रोका खेलाडी विदेश पलायन समेत भईसकेका छन् । आफनै खर्चमा विदेश खेल्न जानुपर्ने बाध्यताले समेत खेलाडीको अभिरुची घट्दै गएको दुखेसो प्रशिक्षक गुरुङको थियो । ‘राष्ट्रको लागि खेल्न जाने खेलाडीलाई आफनै खर्चमा जाउ भन्ने परिस्थिति सृजना गरिन्छ’ उनले भने–‘राष्ट्रको झण्डा बोकेर खेल्न जाने खेलाडी आर्थिक समस्याकै कारण जान नपाउने अवस्था छ ।’
सेपाक ताक्रो खेल महंगो खेल होईन् । १५ सय रुपैयाँमा म्याच बल पाईन्छ । टे«निङ बल अझै सस्तो पर्छ । आँगनजत्रो ठाँउ सजिलै खेल्न सकिन्छ । रेगु, डबल र क्वाड गरी ती इभेण्टमा प्रतिस्पर्धा हुन्छ । नेपालमा क्वाड हुदैन् । क्वाडमा चार जना खेलाडी खेल्छन् । रेगु र डबलमा भने ३ जना खेलाडी र दुईजना बैकल्पिक खेलाडी हुन्छन् । नेपाली हावापानी सुहाउँदै खेल भएपनि सम्बन्धित निकायको ध्यान नपुग्दा प्रचारोन्मुख हुन सकेको छैन् । चार वर्ष अघि पश्चिमाञ्चल टोलीले पुर्वाञ्चलमा सम्पन्न सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला तथा पुरुष टिमले रेगु र डबल इभेण्टमा स्वर्ण र रजत पदक जितेको थियो ।
फाईल तस्बिर ।