कोलकत्ताकाे पहिलो जित, हैदराबादकाे दोस्रो हार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ११ गते २०७७ मा प्रकाशित


एजेन्सी, असोज ११ । युएईमा जारी इन्डियन प्रमियर लिग (आईपिएल) मा शनिबार कोलकत्ता नाइट राइडर्सले पहिलो जित निकालेको छ ।

अबुधाबीमा शनिबार राति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो । हैदराबादले यस अघि पहिलो खेल गुमाएको थियो ।

शेख जायद स्टेडियममा हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । कोलकत्ताको जितमा शुभमन गिलले उत्कृष्ट पारी खेले । गिलले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा नटआउट रहे । यस्तै गिललाई साथ दिएको इयोन मोर्गन ४२ रनमा नटअटाउट नै रहे । यस अघि नितिस रानाले २६ रन जोड्दा कप्तान दिनेश कार्तिक र सुनिल नारिन शून्यमा नै पवेलियन फर्किएका थिए । बलिङ तर्फ हैदराबादका खलिल अहमेद, राशिद खान र टी नटराजनले १/१ विकेट आफ्नो नाममा देखाए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । हैदराबादका लागि मनिस पाण्डेले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान डेभिड वार्नरले ३६ रन जोड्दा जोनी बेयस्र्टो ५ रनमा आउट भए । रिद्धिमान शाहले ३० तथा मोहमद नाबीले अविजित ११ रन बनाए । कोलकत्ताका पाट कुमिन्स, भरुण चक्रवर्ती र आन्द्रे रसेलले १/१ विकेट लिए ।

जितसँगै कोलकत्ताले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा कोलकत्ता मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो । हैदराबादको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो ।

आईपिएलमा आज (आइतबार) साँझ राजस्थान रोयल्स र किंग्स इलाभेन पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ ।