नेशन्स लिगमा स्पेन र जर्मनीको महत्वपूर्ण जित

- नेशन्स लिग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २५ गते २०७७ मा प्रकाशित


गोलगरेपछि खुशीको संकेत ।

एजेन्सी, असाेज २५ । नेशन्स लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा स्पेन विजयी भएको छ। समूह ए फोरमा रहेको स्पेनले घरेलु मैदानमा भएको खेलमा स्वीट्जरल्याण्डलाई १–० ले पराजित गरेको हो ।

मड्रिडमा भएको खेलमा स्पेनलाई जिताउन १४ औँ मिनेटमा मेरिनोको सहयोगमा मिकेल ओयार्जाबालले गरेको गोल नै निर्णायक बन्यो । दोस्रो हाफको सुरु मै मिकेलले व्यक्तिगत दोस्रो गोल गरी अग्रता दोब्बर पार्ने सुन्दर मौका भने गुमाए ।

समूह ए फोर अन्तर्गतकै खेलमा जर्मनीले युक्रेनलाई २–१ ले पराजित गरेको छ।

अवे मैदानमा भएको खेलमा २० औँ मिनेटमा गिन्टर तथा ४९ औँ मिनेटमा गोरेट्ज्काले जर्मनीका लागि गोल गरेका हुन् । युक्रेनका लागि ७६ औँ मिनेटमा पाएको पेनाल्टीमा मालिनोभ्स्कीले एक गोल फर्काए । नेशन्स लिगमा जर्मनीकाे याे पहिलाे जित हाे ।

तीन खेलबाट सात अंक जोडेको स्पेन समूहको शीर्ष स्थानमा छ भने दुई अंक कम रहेको जर्मनी दोस्रो स्थानमा रहेको छ ।

शनिबार राति भएका अरु खेलमा लग्जेम्बर्गले साइप्रस तथा मोन्टेनेग्रोले अजरबैजानलाई समान २–० तथा जिब्रालटारले लिचेस्टाइनलाई १–० ले पराजित गरेको छ ।

यस्तै फारोइ आइल्याण्ड र लात्भियालो १–१ तथा एन्डोरा र माल्टाले गोलरहित बराबरी खेलेका छन्।