गण्डकी प्रदेश साहसिक खेलकुदको हब

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित


बन्जीजम्प ।

पोखरा-गण्डकी प्रदेश आफैंमा साहसिक खेलको उर्वर भूमी हो । प्याराग्लाईडिङदेखि बन्जी जम्प, अल्पाईन स्कीदेखि वाल क्लाईम्बिङ । र्याफटिङदेखि क्यानोनिङसम्म साहसिक खेलको मजा लिन सकिन्छ ।

कास्कीसँगै जोडिएको पर्वत र बाग्लुङलाई जोड्ने कालीगण्डकी नदीमाथि बलेवामा विश्वकै अग्लो स्वीङ र दोस्रो अग्लो बन्जीजम्प शुरु हुदैं छ । कार्तिक १५ गतेदेखि सञ्चालनमा आउँदै छ । यसले एडभेन्चर स्पोर्टसलाई बढवा दिएको छ ।

दि क्लिफ प्रालिले शनिबारदेखि आफना साहसिक गतिविधिलाई सर्वसाधारणको लागि खुला गर्ने छ । प्रालिका अध्यक्ष राजु कार्कीले लकडाउनले केही ढिलो भएको उल्लेख गर्दै शनिबारदेखि सञ्चालनमा ल्याउने प्रष्टयाए । पुल ५२५ मिटर लामो छ । पुलको मध्यभागमा कालीगण्डकी नदीको बहाव हेर्र्दै फाल हाल्न सकिन्छ ।

पानीको सतहदेखि पुलसम्मको उचाई २२८ मिटर लामो छ । विश्वकै अग्लो बन्जी ७६४ फिट उचाईको छ । जुन मकाउमा छ । यो विश्वकै दोस्रो उचाईयुक्त बन्जी हो । जसको उचाई २२८ मिटर(७४८ फिट) छ । यसअघि विश्वकै दोस्रो उचाईको बन्जी स्वीट्जरल्याण्डको भरजस्का बाँधमाथि बनाईएको थियो । जसको उचाई ७२० फिट छ । बन्जी र स्वीङ दुबैको मुल्य ७ हजार तोकिएको छ।

गुलेली शैलीको पिङ

पिङ

बन्जीकालागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ भने सो भन्दा माथी बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ ।

जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक छ। यो गुलेलीको शैलीमा निर्माण गरिएको छ । सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि प्रालिका पछाडीबाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ।

चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरिको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरि निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ बनेको कार्कीको दाबी छ। पिङ खेल्न प्रतिव्यक्ति २ सय ५० रुपैयाँ लाग्ने कार्कीले बताए।

स्काइ साइक्लीङ

स्टील कोर केबल प्रयोग गरि स्काइ साइक्लीङ तयार गरिएको हो। विश्वकै सबैभन्दा ऊचाईमा सन्चालित कालीगण्डकी खोंचको स्काइ साइक्लीङ २ सय २८ मिटर अग्लो छ भने लम्बाई तीन सय मिटर छ। दुइतर्फी तीन सय मिटर लम्बाई रहेको रुटमा एक पटकमा दुई जनाले साइक्लीङ गर्न मिल्ने कार्कीले बताए।

स्काइ साइक्लीङ

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्काइ साइक्लीङ तयार गरिएको र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने कार्कीले जानकारी दिए। साइक्लीङकालागि आवस्यक साइकल र अन्य सुरक्षा उपकरण कम्पनीले नै प्रदान गर्ने कार्कीले बताए।

साइकल र यात्री दुबैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ। लिकमा रेल गुडेझैं फिक्स ह्याण्डल भएको साइकललाई रोपमा कुँदाइन्छ। स्काइ साइक्लीङको सन्चालन भने केही महिना पछि गरिने प्रालिले जनाएको छ । साहसिक खेलको पूर्वाधार निर्माण गर्न प्रालिले ८ करोड रुपैयाँ खर्च गरेको छ ।