दश खेलाडीमा सीमित स्वीट्जरल्याण्डसँग स्पेनको बराबरी

- दुई पेनाल्टीमा गोल गर्न चुके रामोस

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ३० गते २०७७ मा प्रकाशित


रामोस पेनाल्टी प्रहार गर्दै ।

एजेन्सी-दश खेलाडीमा समेटिएको स्वीट्रल्याण्डसँग नेसन्स लिगमा गएराती स्पेनले बराबरी खेलेको छ । खेल सकिन एक मिनेट बाँकी रहँदा गोल फर्काउँदै सम्भावित हारबाट स्पेन जोगिन पुग्यो ।

पाएको दुई वटा पेनाल्टीलाई कप्तान सर्जियो रामोसले गुमाएपछि सम्भावित जितबाट स्पेन टाढियो । यद्यपी ढिलो गरी गोल फर्काउँदै हारबाट जोगियो ।

खेलको २६ औं मिनेटमा स्वीट्जरल्याण्डले गोल गर्दै अग्रता लियो । ब्रिल एम्बोलोको पासलाई सदुपयोग गर्दै रेमो फ्रिउलेरले गोल गर्दै स्पेनलाई दबावमा राख्यो ।

पहिलो हाफमा एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउन हतार रहेको स्पेनले ५७ औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो ।

रिकार्डो रोड्रिगुईजको पेनाल्टी बक्सभित्र ह्याण्ड भएपछि पाएको पेनाल्टीलाई रामोसले हिर्काए । तर उनको प्रहारलाई स्वीट्जरल्याण्डका गोलकिपरले बचाउ गरेपछि बराबरीको सम्भावना तत्काललाई टर्यो ।

८० औं मिनेटमा अर्को पेनाल्टीको अवसर स्पेनले पायो । तर त्यो पनि रामोसले गुमाए । एकै खेलमा पाएको दुई पेनाल्टीलाई रामोसले गुमाए ।

एल्भारो मोराटो पेनाल्टी बक्सभित्र खराब फउल गरेपछि पेनाल्टीको अवसर पाउँदा स्वीटजरल्याण्डका निको एल्भेडीलाई रेफ्रीले रातो कार्ड देखाए ।

७९ औं मिनेटमा फउल गरेपछि रातो कार्ड खाँदै बाहिरिएपछि स्वीट्जरल्याण्ड दश खेलाडीमा सीमित हुन पुग्यो । एकपछि अर्को गरी गोलको अवसर बुनेपनि स्पेनले भने सफलता पाउन सकेको थिएन् ।

८९ मिनेटमा सर्जियो रेगुईलोनले दिएको पासलाई गेरार्ड मोरेनोले गोल गर्दै स्पेनलाई सम्भावित हारबाट जोगाएका थिए ।