खेलकुद परिषद सदस्य सचिव बन्न चारजना चर्चामा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १ गते २०७७ मा प्रकाशित


गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय ।

पोखरा-गण्डकी प्रदेश खेलकुद विधेयक २०७७ विधेयकलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रमाणीकरण गरिसकेका छन् । प्रमाणीकरणसँगै गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव चयनमा बाटो खुलेको छ ।

सदस्य सचिव चयन गर्ने छनोट समिति सामाजिक विकास मन्त्रालयले गठन गरिसकेको छैन् । छनोट समिति गठनपछि समितिले आवेदन माग गर्ने छ । आवेदन अनुसार उपयुक्त पात्रलाई सदस्य सचिव चयन गरिने प्रावधान छ ।

छनोट समिति गठन नहुदैं सदस्य सचिवको चलेखल शुरु भईसकेको छ । सदस्य सचिवको लागि आन्तरिक लबिङ समेत शुरु गरिसकेको छ । गण्डकी प्रदेशसँगै जिल्ला खेलकुद विकास समितिमा समेत कार्यसमिति चयन गर्नुपर्ने छ । सम्भवत प्रदेश र जिल्ला सँगै गठन हुने सम्भावना पनि उत्तिकै छ ।

गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिव बन्न दौडमा दिलिप विक्रम शाही, सन्तोष राउत, राम भण्डारी र तेजबहादुर गुरुङको चर्चा छ । तेजबहादुर गुरुङ नेपाल ओलिम्पिक कमिटिका उपाध्यक्ष हुन् । नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष समेत हुन् । यद्यपी उनको उमेर हदकै कारण सदस्य सचिव बन्ने सम्भावना न्यून रहेको खेलकुद स्रोतले जनायो । उनी ५९ वर्षका भईसकेका छन् ।

सदस्य सचिव बन्नको लागि ६० वर्ष उमेर तोकिएको छ । ६० वर्षपछि स्वतह राजीनामा दिनुपर्ने वा मन्त्रालयले हटाउन सक्ने ऐनमा छ । त्यसैले गर्दा पनि गुरुङको सम्भावना नरहेको खेलकुदकै अग्रजहरु स्वीकार्छन् । शाही राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य समेत हुन् । तर उनी सदस्य बनेपनि गुमनाम रहे । उनी खेलकुद गतिविधिमा खासै संलग्नता नै देखिएन् । बुझाई अनुसार शाही सदस्य हुदाँ कुनै पनि गतिविधिमा नबोलाई बाईपास गरिएको थियो । भण्डारी भलिबल संघका केन्द्रीय सदस्य हुन् । लामो समयदेखि भलिबलमा आवद्ध छन् । राउत पनि खेलकुदमै आवद्ध रहेको बुझिएको छ ।

प्रदेश सदस्य सचिव बन्न फौजदारी अभियोग समेत लागेको हुनु हुदैन् । स्नातक तह पास गरेको हुनुपर्ने छ । शैक्षिक योग्यता नपुगेका व्यक्तिले सदस्य सचिव बन्न पाउने छैन् । जिल्लामा पनि दिपकबहादुर गोदारको चर्चा छ । उनी निवर्तमान जिल्ला कार्यसमितिको कोषाध्यक्ष हुन् ।

मुआथाई किक बक्सिङका प्रमुख प्रशिक्षक समेत हुन् । लामो समय खेलकुदमा आवद्ध छन् । उनीसँगै चर्चामा याम गुरुङ दोहोरिन सक्ने सम्भावना छ । उनी नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष समेत हुन भने जिल्ला कार्यसमितिको निर्वतमान अध्यक्ष समेत हुन् । अर्का चर्चामा रहेको नाम बलराम सुवेदी हो । सुवेदी कराँतेका पूर्व खेलाडी हुन् ।

गण्डकी प्रदेश खेलकुद परिषद २५ सदस्यीय समिति बन्ने छ । ६ सदस्यीय समिति कार्यकारी बन्ने छ । सामाजिक विकास मन्त्री अध्यक्ष रहने व्यवस्था छ । प्रदेश सरकारले नियुक्त गरेको व्यक्ति उपाध्यक्ष बन्ने छ ।

मन्त्रालयको सचिव, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीबाट दुईजना(एकजना महिला अनिवार्य), प्रादेशस्तरीय नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी बलबाट एक–एक जना प्रतिनिधिको रुपमा प्रदेश खेलकुद परिषदको सदस्यमा रहने व्यवस्था छ । त्यसैगरी गण्डकी विश्वविद्यालय, खेलकुद विभाग प्रमुख, अपांग महासंघ, उद्योग वाणिज्य संघ तथा स्थानीय तहबाट नियुक्त भएका खेलकुद प्रमुख सदस्य रहने व्यवस्था छ ।