साग विजेता बोगटीसहितको सहभागिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित


नेपालगन्ज म्याराथनको टी-सर्ट सार्वजनिक ।

नेपालगन्ज-छैटौं नेपालगन्ज पुरुष म्याराथनमा यसपटक १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरणसिंह बोगटी, गत वर्षका विजेता नवराज साउद, सागकै स्वर्ण पदक विजेता गोपी पार्की लगायतका धावकहरुले प्रतिस्पर्धा गर्ने छन् ।

उनीहरुसँगै उपाधिको लागि विभिन्न जिल्लाका २० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्न नेपालगन्ज आईपुग्ने आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । महिलातर्फ १० भन्दा बढी खेलाडीले भाग लिदैछन् । म्याराथनका विजेताले अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।

नेपालगञ्जको विपीचोकदेखि सुरु भएर कोहलपुर चौराहा अगाडि पुगेर पुनः विपीचोकमा पुगेर म्याराथन टुंगिनेछ । विपीचोकदेखि दौड सुरु भएपछि सडकको एउटा रुट खाली गराउने र ठाउँ ठाउँमा प्रहरी परिचालन गरिने छ । यसपटक म्याराथनका विजेताले ७५, दोस्रोले ३० हजार, तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । म्याराथनको विजेताले गत वर्षको तुलनामा २० हजार रुपैयाँ पुरस्कार बढी पाउनेछन् ।

महिला हाफ म्याराथनको विजेताले ३०, दोस्राले १५, तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ । नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए ।

त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् । म्याराथन क्रियटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापन रहने छ । आवश्यक तयारी पुरा भएको छ । केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक रहनेछ । म्याराथनमा आशीर्वाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंकको विगतमा जस्तै साथ रहनेछ ।