क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता शुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २३ गते २०७७ मा प्रकाशित


अम्पायरलाई बल हस्तान्तरण गर्दै राखेप बोर्ड सदस्य सम्पन्न श्रेष्ठ ।

पोखरा-प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि पोखरामा क्रिकेट छनोट प्रतियोगिताको शुरुवातसँगै नौ महिनापछि खेलकुद गतिविधि शुरु भएको छ । मंगलबारदेखि लामो समयपछि क्रिकेटको छनोट प्रतियोगिता शुरुभएसँगै खेलकुद गतविधिको शून्यताको अन्त्य भएको छ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबारदेखि शुरु भएको छनोट प्रतियोगिताको उदघाटन खेल माछापुच्छ«े क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबमाथि १४ रनको जित निकाल्दै शुरुवात गरेको छ । टस हारेर व्याटिङ्गमा उत्रिएको माछापुच्छ«े क्रिकेट क्लबले दोस्रो विकेटको लागि कप्तान दिपेश खत्री र अभिषेक थापाको उत्कृष्ट पारी खेलेपछि २ सय ७१ रनको योगफल तयार पारेको थियो ।

पुरै ५० ओभर खेल्ने क्रममा माछापुच्छ«ेले ४१ ओभर टुंगिदाँ केवल एक विकेट गुमाएर खेलिरहेको थियो । बाँकी ९ ओभर टुग्याउँदा थप ५ विकेट गुमाउन पुग्यो । ६ विकेटको क्षतिमा २७१ रनको लक्ष्य दिने क्रममा कप्तान खत्रीले १३३ को शतकीय पारी खेले । उनले १३५ बल खेल्दै ११ चौका र ७ छक्का हिर्काए । उनी देव साहको बलमा सिधा अगाडि छक्का हान्ने क्रममा बाउण्ड्रीमा क्याच हुदैं पभेलियन फर्किएका थिए । माछापुच्छ«े पहिलो विकेट मनोज कोईरालालाई सस्तैमा गुमाएको थियो । अभिषेक थापाले ९४ रनको पारी खेले । थापा र खत्रीको जोडीले २१५ रनको साझेदारी गरेका थिए । उनी अविजित रहँदै उत्कृष्ट पारी खेल्ने क्रममा केवल ६ रनले मात्रै शतक पुरा गर्नबाट चुके । उनले १२७ बल खेले । ७ चौका र २ छक्का उनको स्कोरमा चढ्यो । पोखरा क्रिकेट क्लबका देव साहले ३ विकेट लिए ।

२७२ रनको लक्ष्य पाएको पोखरा क्रिकेट क्लब भने २५७ रनमा समेटियो । साहिल कार्कीले शतकीय पारी खेल्दै जितको आशा जगाएपछि जित नजिक पुगेर झिनो रनअन्तरले पराजित हुन पुग्यो । कार्कीले मध्यक्रमको व्याटिंग सम्हाल्ने क्रममा १२७ बल खेल्दै १०१ रनको पारी खेले । उनले १३ चौका हिर्काए । सुवास भण्डारी, गोविन्द प्रधान र प्रमोद बास्तोलाले क्रमश २६ रन जोडे । पोखरा क्रिकेट क्लबले पाँचौ विकेटको लागि ५८ रनको साझेदारी निभाए । जुन सबैभन्दा उत्कृष्ठ साझेदारीको रुपमा रह्यो । पोखरा क्रिकेट क्लबका बलर अमृत गुरुङले ५८ रन खर्चिएर ४ विकेट लिए । कप्तान दिपेश खत्रीले पनि २ विकेट आफनो नाममा राखे ।

बुधबारको प्रतिस्पर्धा सांग्रिला क्रिकेट क्लबले कास्की क्रिकेट क्लबलसँग खेल्ने छ । छनोट प्रतियोगिताको उदघाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले खेलकुद संघभित्र हुने राजनीतिक लुछाचुँडीले खेल क्षेत्र धरापमा पर्दै गएको उल्लेख गरे । उनले खेलकुद व्यवसायिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिए । नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतमले कोरोना कहरमै क्रिकेट प्रतियोगिताबाट खेलकुद गवितिधिले गतिले लिने विश्वास व्यक्त गरे । खेलकुद पत्रकार मन्च गण्डकीका अध्यक्ष एकराज गिरीले पनि लामो समयपछि खेलकुदको गतिविधिले खेलाडीहरुमा नयाँ उत्साह थपिएको बताए । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना कहरकै बीचमा क्रिकेट प्रतियोगिताले खेलकुदलाई लयमा फर्काउने विश्वास व्यक्त गरे ।

उदघाटन अघि संघ विरुद्ध कालोझण्डा प्रदर्शन
मंगलबारदेखि शुरु भएको क्लबस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उदघाटन समारोहमा कास्की जिल्ला क्रिकेट संघ विरुद्ध कालोझण्डा देखाएका छन् । संघले नयाँ क्लबलाई दर्ताको लागि आह्वान गरे अनुसार दर्ता गर्न गएपनि अन्तिमसमयमा छनोट प्रतियोगितामा सहभागिता जनाउन नपाउने चिक्तबुझ्दो जवाफ नपाएको भन्दै आर.के भिक्टोरियस क्लबका खेलाडीले कालोझण्डा देखाएका हुन् । क्लबका सचिव कविन सापकोटाले संघमा आफनो दर्ताको लागि सम्पूर्ण कागजपत्र पेश गरेपनि संघले छनोट खेल्नबाट आफुहरुलाई बन्चित गरेको गुनासो गरे ।

संघ विरुद्ध कालोझण्डा प्रदर्शन

संघका अध्यक्ष सन्जकान्त सिग्देलले क्लब दर्ताको म्यादभित्र नआएकोले उनीहरुलाई छनोट खेलमा सहभागिता गराउन नसकिएको स्पष्ट पारे । उनले टाईसिट निकाल्ने समयमा मात्रै दर्ताको लागि कागजपत्र पेश गरेको जिकिर गरे । उनले दर्ताको प्रक्रियामा अगाडि बढाईएको भन्दै अर्को वर्ष मात्रै क्लबस्तरीय छनोट खेल्न पाउने बताए ।