पावर हाउसमा जिल्लास्तरीय रंगशाला

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ९ गते २०७७ मा प्रकाशित


‘पावरहाउस फुस्रेखोला जिल्लस्तरीय रंगशाला मैदान’ निर्माणको शुभारम्भ गर्ने क्रममा तस्बिर खेलाडीन्युज ।

पोखरा-पावर हाउस(फेवा जलविद्युत आयोजना) नजिकै खेल मैदान छ । मैदान पुग्ने बाटो छैन् । मैदानसम्म बाटो पुर्याउने लक्ष्य महानगरपालिकाले लिएको छ । महानगरपालिकाका मेयर मानबहादुर जिसीले खेल मैदान निर्माणको लागि बाटोको शिलान्यास गरे । शिलान्याससँगै बाटो निर्माण अघि बढाइएको छ । केही दिनपछि पावर हाउसकै निर्माणाधिन खेलमैदानमा पुर्याईने लक्ष्यसहित काम धमाधम गरिएको छ ।

पोखरा–१७ आफैंमा खेल क्षेत्रमा अग्रणी छ । त्यसैले पनि खेल मैदानको जिम्मेवारी पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीले लिएको छ । जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष समेत भईसकेको पूर्व राष्ट्रिय खेलाडी दिपकबहादुर गोदारकै अध्यक्षतामा बनेको निर्माण समितिले काम शुरु गरेको हो । बक्सिङका अन्तराष्ट्रिय पूर्व खेलाडी गणेशबहादुर भट्टराई, फुटबलका राजेन्द्र तामाङ, दिपेन्द्र तामाङ प्याराग्लाईडिङका एशियन पदकधारी विमल अधिकारी, फुटबलका अन्तराष्ट्रिय खेलाडीद्वय बसन्त तथा विशन गौचनको वडा समेत हो ।

महानगरले नेतृत्व र अपनत्व लिने गरी काम शुरु गरिएको छ । महानगरपालिकाका मेयर मानबहादुर जिसीले पूर्वाधार तयार गर्न लगानी गर्ने तर बनिसकेकोपछि कसले जिम्मेवारी लिने भन्ने परिपाटीले नै समस्या सृजना हुने गरेको बताए । ‘जसले अपनत्व र नेतृत्वको जिम्मेवारी लिन्छ उसैले लगानी गर्नुपर्छ ।’ मेयर जिसीको भनाई थियो । ‘पावरहाउस फुस्रेखोला जिल्लस्तरीय रंगशाला मैदान’ नाम दिइएको छ । योजना ९ करोडको हो । तर बाटो बनाउने काम शुरु गरिएको छ । ‘रंगशालासम्म पुग्ने बाटो बन्छ । महानगरले सम्पन्न गर्छ ’ मेयर जिसीको भनाई थियो । उनका अनुसार एक वडा एक मैदानको अभियानलाई साकार पार्न पनि योजनालाई सफल बनाउने सुनाए ।

‘बाटो निर्माण शुरु गरिसकिएको छ । एक दुईदिन भित्रमा बाटो खेलमैदानसम्म पुर्याउँछौं ।’ मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपकबहादुर गोदारले भने–‘मैदान निर्माण गर्न महानगरको चासोलाई हामीले साथ र सहयोग गर्दै आएका छौं ।’ महानगरपालिकाले आवश्यक बजेट छुट्टाएको अवस्थामा बाटोको काम टुग्याउँदै प्राविधिक लगेर खेल मैदानमा बनाउन सकिने पूर्वाधारको विषयमा विस्तृत परियोजना बनाउने उनको भनाई थियो ।

पोखरा–१७ काउसेघारीबाट ओरालो झादै मैदानसम्म पुर्याउने काम भईरहेको छ । ५० मिटर बाटो बनाईसकिएको छ । अझै दुईसय मिटर भन्दा बढी बाटो बनाउनुपर्ने खाँचो छ । पोखरा महानगरपालिका वडा नं–१७ ले १३ लाख रुपैयाँ छुट्टाएको छ । छुट्टाईएको बजेटबाटै बाटोको काम शुरु गरिएको उनले सुनाए । ‘खेल मैदान निर्माणपछि स्वास्थ्यका लागि खेलकुदको नाराले सार्थकता पाउँछ’ उनले भने–‘विशेष गरी खेलाडीलाई पावर टे«निङ गर्न उपयुक्त हुन्छ ।’

पावर हाउस झण्डै २ सय मिटर गहिराईमा छ । फुस्रे खोला किनारमा छ । खोला किनारमै मैदान छ । रंगशालाको लागि पर्ती जग्गा छ । पर्ती जग्गाभित्र समथरदेखि उबडखाबड जमिन समेत छ । त्यसलाई सम्याएर पूर्वाधारहरु तयार गरिने छ । निर्माण उपभोक्ता समितिले ‘स्पोर्टस गार्डेन’ बनाउने लक्ष्य लिएको छ । शिलान्यास समारोहमा पोखरा–१७ का वडाध्यक्ष तीर्थ अधिकारी लगायत विभिन्न राजनीतिक व्यक्तित्व एवं समाजसेवीको उपस्थिति रहेको थियो ।