
समूहगत प्रतिस्पर्धामा काता प्रदर्शन गर्दै खेलाडीहरु ।
पोखरा-सधै फाईट मात्रै गरिने कराँतेमा पहिलो पटक पोखरामा भने काता प्रतियोगिता आयोजना गरिएको छ । क्योकुशिन कान कराँते संघ कास्कीले कोरोना भाईरसकै कारण खेलाडीहरु प्रशिक्षण गर्न नपाएकै अवसरमा कन्ट्याक्ट(फाईट) नगरी काता(प्रदर्शन) गरेर प्रतियोगिता आयोजना गरिएको थियो ।
माघे संक्रान्तिको अवसरमा पोखराकै धार्मिक एवं ऐतिहासिकस्थल ढुंगेसाँघुमा आयोजना गरिदैं आएको प्रतियोगिता बिहीबार पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा खेलाडीहरु बीच काता प्रतियोगिता गरिएको थियो । कातासँगै खेलाडीहरु बीच दौड तथा प्रदर्शन समेत गरिएको थियो । प्रतियोगिता प्रदेशस्तरीय आयोजना गरिएको संघका अध्यक्ष बेलबहादुर थापाले जनाए ।
प्रतियोगिताको सिनियर ब्ल्याक बेल्ट लेभलको एकल पुरुष तर्फ विनोद नेगी पहिलो, सम्राट सेन दोस्रो तथा महिला तर्फ संगम कुमाल पहिलो र प्रिज्मा कुमाल दोस्रो भएका थिए । उनीहरुले ब्ल्याक बेल्टको परीक्षामा देखाउनुपर्ने काता प्रदर्शन गरेका थिए । समुहगत महिला काता प्रतियोगिता तर्फ संगम कुमाल, निर्मला क्षेत्री र सदीक्षा कुमाल प्रथम, दोस्रो प्रिज्मा कुमाल, सुविना क्षेत्री र ममता छन्त्यालको टोली तेस्रो स्थानमा रह्यो ।
पुरुष ३ किलोमिटर दौड प्रतियोगितामा सुनिल सिग्देल पहिलो र सितल कुमाल दोस्रो भए । महिला तर्फको दौडमा संगम कुमाल पहिलो र सदिक्षा कुमाल दोस्रो हुन पुगिन् । कराँतेमा फाईट मात्रै नभई काता समेत महत्वपूणै विधा भएकोले खेलाडीको ध्यान त्यता तिर नहुदाँ काता विर्सने हुदाँ खेलाडीहरु बीच काता प्रतिस्पर्धा गरिएको संघका सल्लाहाकर दिपकबहादुर गोदारले जानकरी दिए । उनीहरु सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता संयोजक दानबहादुर क्षेत्रीले जानकारी दिए । म्याग्दी, स्याङ्जा, तनँहु, गोर्खा, कास्की बाग्लुङ लगायतका जिल्लाका खेलाडी प्रतियोगितामा सहभागी भएका थिए ।