नेपाली राष्ट्रिय फुटबल टोलीको पोखरामा प्रशिक्षण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ९ गते २०७७ मा प्रकाशित


राष्ट्रिय फुटबल टोलीको पोखरामा प्रशिक्षण

पोखरा-नेपाली फुटबलको राष्ट्रिय टोलीले पोखरामा शुक्रबारदेखि प्रशिक्षण शुरु गरेको छ । टोली बिहीबार साँझ पोखरा आईपुगेको हो । शुक्रबार दिउँसो ३ बजे पोखरा रंगशालामा फुटबल टोलीले प्रशिक्षण शुरु गरेको हो । ५० जना खेलाडीबाट पहिलो चरणमा छनोट गरिएको ३५ सदस्यीय टोली पोखरा आईपुगेको हो । पोखरामा दुईसाता प्रशिक्षण गरेर काठमाडौं फर्किने छ ।

फुटबल टोलीले पोखरामा माघ २१ गतेसम्म प्रशिक्षण गर्ने छ । पोखरा आईपुगेको टोलीमा ३५ खेलाडी छन् । ९ जना अफिसियल छन् । नेपाली टिमले सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा विश्वकप छनोटको तयारी भए पनि महिला राष्ट्रिय लिग सञ्चालन भएपछि पुरुष फुटबल टिम प्रशिक्षणको लागि पोखरा आईपुगेको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।

टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकको जिम्मेवारी पोखरेली प्रशिक्षक किरण श्रेष्ठले लिएका छन् । फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणको बाँकी तीन खेल नेपालले दशरथ रंगशालामा दर्शकसहित खेल्दैछ । नेपालले छनोटमा चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ ।

नेपालले ताइपेईसँग चैत १२ गते र अस्ट्रेलियासँग चैत १७ गते खेल्ने कार्यक्रम तय गरिएको छ । विश्वव्यापी फैलिएको कोरोना कहरकै कारण छनोट प्रतियोगिता पछि सारिएको थियो । जोडर्नसँग जेठ १२ मा खेल्ने तय छ । छनोटमा समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अंक जोडेर चौथो स्थानमा छ ।

नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा पराजित भएको थियो । नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ ।