प्रधानमन्त्री कपः एपिएफ सेमिफाइनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १० गते २०७७ मा प्रकाशित


सन्दीप जोराले ६० रनको अर्धशतकीय इनिङ्स

काठमाडौ– कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै विभागीय टोली एपिएफ प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शनिबार भएको खेलमा एपीएफले लगातार तेस्रो जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । कर्णालीको हारले अको विभागीय टिम त्रिभुवन आर्मी क्लबको पनि अन्तिम चारको ढोका खोलिन पुग्यो ।

एपीएफले दिएको २ सय १९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली ४३।२ बलमा सबै विकेट गुमाएर मत्र १ सय ४७ रन जोड्न सक्यो । कर्णालीका हेमन्त ओली एक्लैले ५८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हारलाई टार्न सकेनन् । यस्तै हिमान्सु शाहीले २० रन जोड्दा कप्तान रविन्द्र शाहीले १४ रनको व्यक्तिगत स्कोर बनाएर पवेलियन फर्किए । अविशेक ठकुरी र राज साहले समान १२÷१२ रन जोडे । एपीएफका बसन्त रेग्मी र किशोर महतोले ३÷३ विकेट हात पार्दा भुवन कार्कीले २ विकेट आफ्नो नाममा लेखाए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभर सकिन एक बल बाँकी रहँदा सबै विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । एपीएफको लागि सन्दीप जोराले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अमर रौटेलाले ३१ रन जोड्दा सुवास खकुरेलले २३ रन बनाए । भुवन कार्की र शंकर रानाले समान १५ रन बनाउदा बसन्त रेग्मीले १४ रन बनाए । सुमित महर्जन १० रनमा आउट हुँदा कप्तान शरद भेषवाकर ८ रन बनाएर आउट भए । किशोर महतो २५ रनमा नटआउट रहे । कर्णालीका कप्तान रविन्द्र शाही र अनुज चुनाराले ३/३ विकेट लिए । दिवन पुन र राज साहले २÷२ विकेट लिए ।

तीन खेलबाट स्पष्ट जित निकालेको एपिएफले समूह तालिकामा ६ अंक जोडेको छ । एपिएफ तालिकाको शीर्ष स्थानमा छ । यस अघि प्रदेश–१ र गण्डकीलाई हराएको थियो । यस समूहमा समान ६ अंक जोडेको आर्मी दोस्रो स्थानमा रहेको छ । अब एपीएफ र आर्मीबीचको खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । कर्णालीको यो तेस्रो हार हो । हारसंगै कर्णाली बाहिरिएको छ । कर्णालीले ४ खेलमा २ अंक जोड्यो ।