पोखरामा महिला तथा पुरुष क्लब च्याम्पिनसिप भलिबल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १२ गते २०७७ मा प्रकाशित


महिलाा राष्ट्रिय भलिबल। तस्बिर फाईल ।

पोखरा-टाईगर ग्रुप पोखराले माघ २७ गतेदेखि पोखरा रंगशालामा टाईगर ग्रुप कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पिनयसिप भलिबल प्रतियोगिता आयोजन गर्ने उदघोष गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै लिगकम नकाउट साथै बेष्ट अफ फाईभको आधारमा महिला र पुरुषको एकैसाथ क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले बताए ।

महिला तर्फ तीन विभागीय टोली नेपाल आर्मीको त्रिभुवन क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र न्यु डायमण्ड एकेडेमी काठमाडौंले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । अध्यक्ष शर्माका अनुसार पुरुष तर्फ पनि आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी र गण्डकी प्रदेशको टोलीको सहभागिता रहेको छ ।

विजेता महिला तथा पुरुष टोलीलाई नगद १ लाख ५० हजार रुपैयाँको पुरस्कार राशीसहित ट्रफी तथा पदक एवं प्रमाणपत्र प्रदान गरिने छ । उपविजेताले महिला तथा पुरुष टोलीले नगद ७५ हजार रुपैयाँ, तेस्रो हुने टोलीलाई भने ३५ हजार राशीको नगदपुरस्कार प्रदान गरिने छ । सान्त्वना पुरस्कार १५÷१५ हजार रुपैयाँ प्रदान गरिने छ ।

महिला तथा पुरुष तर्फ उत्कृष्ट खेलाडीलाई नगद २० हजार प्रदान गरिने छ । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट स्पाईकरलाई नगद ५÷५ हजार रुपैयाँ प्रदान गरिने ग्रुपका सदस्य प्रकाश बरालले जानकारी दिए । प्रतियोगितामा २५ लाख आम्दानी हुने अनुमान गरिएको छ । नेपाल भलिबल संघको समन्वय, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापन, राष्ट्रिय खेलकुद परिषदको संयोजन, पोखरा महानगरपालिकाको विशेष सहयोग र सहयोगी संस्थाको रुपमा सफल दूध रहेका छन् ।