हेटौंडा गोल्डकप- हर्दी र दूधौली विजयी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १७ गते २०७७ मा प्रकाशित


हर्दी युवा समाज चितवन र विरगन्ज युनाईटेड बीचको झलक

हेटौंडा-हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार भएको खेलमा हर्दी युवा समाज चितवन र दूधौली स्पोर्टस् क्लब सिन्धुली विजयी भएका छन् ।

हेटौंडा–१० स्थित बनविज्ञान खेलमैदानमा भएको खेलमा चितवनले बीरगञ्ज युनाइटेडलाई २–० र सिन्धुलीले बीरगञ्ज युथ एकेडेमीलाई पेनाल्टी सुटआउटमा मा ४–२ गोलअन्तरले पराजित गरेको हो । विजय युथ क्लब हेटौंडाको आयोजनामा जारी प्रतियोगितामा चितवनको जितमा निरज चौधरीले सातौं मिनेटमा र सुरेश कुमालले १३ औं मिनेटमा गोल गरेका थिए । चितवनको सुरेश म्यान अफ दी म्याच घोषित भए ।

निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । सिन्धुलीले एकेडेमीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको हो । टाइब्रेकरमा सिन्धुलीका गोलरक्षक रेम्बो चौधरीले दुई प्रहार बचाए । उनी खेलको म्यान अफ दी म्याचसमेत घोषित भए ।
सिन्धुलीका लागि टाइब्रेकरमा विक्रम दनुवार, सञ्जय तामाङ, गोपाल लिम्बु र प्रताप राईले गोल गरेका थिए । बीरगञ्ज युनाइटेडका अजय चौधरी र शेष श्रेष्ठले गोल गरेका थिए । बीरगञ्जका कृष्ण शाक्य र आदित्य शाक्यका प्रहार सिन्धुलीका गोलरक्षक रेम्बोले बचाएका थिए । निर्धारित समयमा बीरगञ्जका तर्फबाट आदित्य शाक्यले गोल गरेका थिए । सिन्धुलीका प्रताप राईले बराबरी गोल गरेका थिए ।

शुक्रबारदेखि हेटौंडामा शुरु भिडोल विजय युथ हेटौंडा गोल्डकपमा सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबले विजयी शुरुवात गरेको थियो । हेटौंडास्थित फरेष्ट्री क्याम्पसको खेलमैदानमा भएको उद्घाटन खेलमा भरतपुरले घरेलु टोली मकवानपुरलाई २–१ ले हराउ“दै विजयी शुरुवात गरेको थियो ।

खेलको पाचौं मिनटमै जोना ग्लोरीको गोलबाट भरतपुरले खेलमा अग्रता बनाएको थियो । यद्यपि, १२ औं मिनटमा ऋषि लामाले मकवानपुरका लागि बराबरी गोल फर्काएका थिए । मकवानपुरले त्यो बराबरी गोलको खुशी धेरैबेर मनाउन सकेन । पहिलो हाफकै अन्तिम मिनटतिर भरतपुरका लागि रञ्जित आलेमगरले दोस्रो गोल गरे । जुन गोल खेलको निर्णायक बन्यो । खेलको म्यान अफ दी म्याच पनि आलेमगर नै घोषित भए । उनले नगद ५ हजार हात पारे ।

जितसगै भरतपुर प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । प्रतियोगिता उद्घाटन हेटौंडा उपमहानगर उपमेयर मीनाकुमारी लामाले गरेकी थिइन् । विजय युथ क्लब हेटौंडाको आयोजनामा सुरु प्रतियोगितामा दश टोलीको सहभागिता छ । प्रतियोगिता विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल माघ २३ गते हुनेछ ।