विभागीय डर्बी प्रतिस्पर्धासँगै टाईकर कप भलिबल आजदेखि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २७ गते २०७७ मा प्रकाशित


महिलाा राष्ट्रिय भलिबल। तस्बिर फाईल ।

पोखरा-विभागीय डर्बीको प्रतिस्पर्धासँगै आजदेखि पोखरा रंगशालामा भलिबल प्रतियोगिता शुरु हुदैं छ । टाईगर ग्रुपको आयोजनामा सञ्चालित टाईगर कप क्लब च्याम्पियनसिपको महिला तर्फको प्रतिस्पर्धा विहान दशबजेपछि शुरु हुने छ ।

पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा हुने प्रतिस्पर्धाको पहिलो खेल नेपाल पुलिस क्लबले शसस्त्र प्रहरी बल बीच हुने छ । त्यसपछिको महिला तर्फकै दोस्रो खेल न्यु डायमण्ड एकेडेमीले नेपाल आर्मी क्लबसँग खेल्दै क्लब च्याम्पियनसिप शुरु गर्ने छ । मध्यान्हमा भने पुरुष तर्फको प्रतिस्पर्धा गराईने ग्रुपले जनाएको छ ।

पुरुष तर्फको उदघाटन खेल गण्डकी प्रदेशले नेपाल पुलिस क्लबसँग खेल्ने छ । क्लब च्यामिम्पयनसिपमा सहभागि क्लबले राउण्ड रोविन लिग खेल्ने छन् । महिला तर्फ तीन विभागीय टोली नेपाल आर्मीको त्रिभुवन क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र न्यु डायमण्ड एकेडेमी काठमाडौंले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । अध्यक्ष शर्माका अनुसार पुरुष तर्फ पनि आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी र गण्डकी प्रदेशको टोलीको सहभागिता रहेको छ ।

विजेता महिला तथा पुरुष टोलीलाई नगद १ लाख ५० हजार रुपैयाँको पुरस्कार राशीसहित ट्रफी तथा पदक एवं प्रमाणपत्र प्रदान गरिने छ । उपविजेताले महिला तथा पुरुष टोलीले नगद ७५ हजार रुपैयाँ, तेस्रो हुने टोलीलाई भने ३५ हजार राशीको नगदपुरस्कार प्रदान गरिने छ । सान्त्वना पुरस्कार १५÷१५ हजार रुपैयाँ प्रदान गरिने छ ।

महिला तथा पुरुष तर्फ उत्कृष्ट खेलाडीलाई नगद २० हजार प्रदान गरिने छ । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट स्पाईकरलाई नगद ५/५ हजार रुपैयाँ प्रदान गरिने ग्रुपका सदस्य प्रकाश बरालले जानकारी दिए ।