गण्डकी र आर्मी उपाधिको लागि भिड्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ३० गते २०७७ मा प्रकाशित


आर्मी र गण्डकी प्रदेश बीचको प्रतिस्पर्धा । तस्बिर फाईल

पोखरा-गण्डकी प्रदेशले टाईगर कप क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको उपाधिको लागि त्रिभुवन आर्मीसँगको भेट पक्का गरेको छ । गण्डकीले आज भएको प्रतिस्पर्धामा शसस्त्र प्रहरी बललाई सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो । आर्मीले पनि विभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई ३–० को सोझौ सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।
शुक्रबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा गण्डकी प्रदेशले शसस्त्र प्रहरीलाई ३–० सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । टाईगर ग्रुपको आयोजनामा भईरहेको प्रतियोगितामा गण्डकीले फाईनल सुरक्षित गर्ने क्रममा पहिलो सेट २५–२१ले लियो ।

दोस्रो सेटमा भने शसस्त्रले कडा चुनौति पेश गर्यो । खेल निकै रोचक र प्रतिस्पर्धात्मक बन्न पुग्यो । तर गण्डकीले अन्त्यमा २९–२७ को सेटमा आफनो पक्षमा पार्दै विभागीय टोलीको भलिबलको बर्चस्वलाई तोड्ने लक्ष्यमा अग्रसर बन्यो । तेस्रो सेटमा भने गण्डकीले सुधारिएको खेल देखाउँदै २१–१५ मा लिदैं फाईनल सुरक्षित गर्दा शसस्त्र प्रहरी बल भने उपाधि होडबाट बाहिरिन पुग्यो ।

पहिलो खेलमा नेपाल पुसिल क्लबसँग पराजित गण्डकीले दोस्रो खेलमा त्रिुभवन आर्मीलाई ३–१ सेटले पराजित गरेको थियो । पुलिस शसस्त्र प्रहरी बलसँग पराजित भएको थियो । दोस्रो खेलमा आर्मीले पुलिसको चुनौतिलाई २६–२४ मा पहिलो सेटमा पराजित गर्दै अग्रता लिएको थियो । दोस्रो सेटमा आर्मीले पुलिसलाई २५–२२ र तेस्रो सेट २५–१४को सेटमा पराजित गरेको थियो ।

टाईगर ग्रुपको आयोजनामा सञ्चालत टाईगर कप क्लब च्याम्पियपनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेता महिला तथा पुरुष टोलीलाई नगद १ लाख ५० हजार रुपैयाँको पुरस्कार राशीसहित ट्रफी तथा पदक एवं प्रमाणपत्र प्रदान गरिने छ । उपविजेताले महिला तथा पुरुष टोलीले नगद ७५ हजार रुपैयाँ, तेस्रो हुने टोलीलाई भने ३५ हजार राशीको नगदपुरस्कार प्रदान गरिने छ । सान्त्वना पुरस्कार १५/१५ हजार रुपैयाँ प्रदान गरिने छ ।