पोखरा म्याराथनमा दौडिदैं धावकहरु । file pic
पोखरा-पोखरामा शनिबार विहान १५ औं संस्करणको पोखरा म्याराथन शुरु भएको छ । विभागीय धावक सहित विभिन्न जिल्लाका २०९ जना धावकहरुले म्याराथनमा सहभागिता जनाएका छन् । पोखरा रंगशालाबाट शुरु भएको म्याराथन पोखराको बजारसहित लेखनाथ क्षेत्र घुमेर पोखरा रंगशालामै पुगेर ४२ दशमलव १९५ किलोमिटर पुरा हुने छ ।।
यस पटक महिला हाफ म्याराथनलाई समेत समावेश गरिएको छ । महिला हाफ म्याराथनमा २९ जना धाविकाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । सिटी म्याराथनको अवधारणासँगै शुरु भएको म्याराथनले पोखरालाई अन्तराष्ट्रिय खेलकुदको शहरको रुपमा परिचित गराउने विश्वास आयोजक भूतपूर्व खेलाडी मन्च नेपालले जनाएको छ ।
विजेता म्याराथन धावकले २ लाख रुपैयाँ पुरस्कार पाउने छन् । उपविजेताले दोश्रोले १ लाख, तेश्रोले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीयले ७५ हजार, तृतीयले ५० हजार, सान्त्वनाले १५ हजार रुपैयाँ पाउने आयोजक भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।म्याराथनको गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभारम्भ गरेका थिए ।