नेपाललाई त्रिदेशीय नेसन्स कपको उपाधि

- विराजको सुखद बिदाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १६ गते २०७७ मा प्रकाशित


च्याम्पियन नेपाल ।

पोखरा-बंगलादेशलाई पराजित गर्दै नेपालले घरेलु मैदानमा त्रिदेशीय नेसन्स कपको उपाधि उचालेको छ । बंगलादेशलाई २-१ गोलले पराजित गर्दै सोमबार ३७ वर्षपछि घरेलु मैदानमा उपाधि उचाल्न सफल भएको हो । ३७ वर्ष अघि नेपाल साफ च्याम्पियनसिपमा घरेलु मैदानमा उपाधि चुमेको थियो । अखिल नेपाल फटुबल संघ(एन्फा)कोआयोजनामा सञ्चालित त्रिदेशीय नेसन्स कपमा गोलरहित बराबरी खेल्दै नेपाल फाईनल प्रवेश गरेको थियो ।

गोलको खडेरी तोड्न अफसल रहँदै आएको नेपालले बंगलादेशलाई सोमबार दशरथ रंगशालामा शुरुवाती अग्रतासँगै उपाधि आफनो नाममा लेखाएको थियो । त्रिदेशीय नेसन्स कपको फाईनलमा पहिलो हाफ अघि नेपालले दुई गोलले अग्रता लिएको थियो । बंगलादेश विरुद्धको फाईनल खेलमा सन्जोग राईले १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । सन्जोगको यो अन्तराष्ट्रिय डेब्यु गोल हो ।

राईले कर्नरको पासलाई बंगलादेशी डिफेन्सबाट क्लियर हुन नसकेको बललाई पावरफुल लेप्ट सट प्रहार गरेका थिए । सेकेण्ड बारमा बंगलादेशी डिफेन्सलाई छिचोल्दै गोल भएपछि घरेलु मैदानमा नेपालले अग्रता लिएको हो ।

पहिलो हाफ हुनु भन्दा तीन मिनेट अघि मात्रै विशाल राईले अर्को थप्दै दुई गोलको अग्रता दिलाएका थिए । अफसाईड विट गर्दै राईले वान भर्सेज वानको अवस्थामा सेकेण्ड बार च्याप्दै गोल गरेपछि नेपालले स्पष्ट २(० गोलको अग्रता लिएको छ । मार्सेलोको उपनामले चिनिने रन्जित धिमालको लामो पासमा संजोक राईले वान टचमा उपलब्ध गराएको पासलाई विशाल जाली चुमाए । विशालको यो राष्ट्रिय टिमका लागि चौंथो गोल हो ।

खेलको ८३ औं मिनेटमा बंगलादेशले कर्नरलाई सदुपयोग गर्दै गोल गर्यो । गोलसँगै नेपाल दबावमा रह्यो । ८३ औं मिनेटमा बंगलादेशका रहमानले गोल गरेपछि नेपालमाथि दबाव सृजना हुन पुग्यो । घरेलु दर्शकको ढुकढुकी बढेको थियो । जमल भुयाको कर्नर बलमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले सिक्या यार्ड बक्सभित्रबाट उत्कृष्ट हेड गोल गरे ।

विराज महर्जनलाई बिदाईमा उचालेर घुमाउँदै खेलाडीहरु ।

रोहित चन्द मोष्ट भ्यालुएबल प्लेयर घोषित भएका छन् । सोमबार नेपालका लागि सफल कप्तानी भूमिका निर्वाह गरेका विराज महर्जनले अन्तराष्ट्रिय खेलबाट विदाई लिएका छन् । उनको सन्यास सुखद रह्यो । सर्वाधिक क्याप जित्न सफल विराजले नेपाली राष्ट्रिय जर्सीमा खेल सकिनु केही मिनेट अघि मात्रै मैदान प्रवेश गर्दै सुखद अन्त्य गरेका थिए । उपाधिसँगै नेपालले ५ हजार डलर प्राप्त गर्यो । बंगलादेशले ३ हजार डलर पुरस्कार प्राप्त गरेको छ । विश्वकप छनोट खेलको प्रतिस्पर्धामा रहेको नेपालले सुखद नजिता आत्मसात गर्यो । लामो समय प्रशिक्षण गरेको नेपालले यो उपाधिसँगै खुशी मनाएको छ ।