संकटा सेमिफाईनलमा, मनाङ मस्र्याङ्दी पहिलो खेलबाटै बाहिरियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २३ गते २०७७ मा प्रकाशित


बलको लागि संघर्ष गर्दै संकटाका जय गुरुङ र मनाङ मस्र्याङदीका पुजन उपकोटी ।

पोखरा-अफ्रिकन खेलाडी फोफोनाको गोलमा संकटा क्लबले आहा रारा गोल्डकपको सेमिफाईनल सुरक्षित गर्दा पोखरेली मैदानमा गर्विलो छवि बनाएको मनाङ मस्र्याङदी क्लब पोखरामा पहिलो खेलबाट गोल्डकप यात्राबाट विट मारेको छ ।

पहिलो हाफ हुनुभन्दा एक मिनेटअघि ४४ औं मिनेटमा फोफोनाले सिधै भली हिर्काउँदै गोल गरेपछि संकटाले मनाङ मस्र्याङदीको चुनौतिलाई १–० गोलले पन्छायो । अमित तामाङले फ्रिकिकलाई दायाँ क्षेत्रमा सुवास गुरुङलाई पास उपलब्ध गराएका थिए । सुबासले गरेको क्रस बललाई मनाङ मस्र्याङदीका खेलाडीबाट रिफ्लेक्ट बललाई फोफोनाले सिधै पोष्टको दिशा दिदैं १९ औं सस्करणको आहा रारा गोल्डकपमा संकटाले सेमिफाईनल सुरक्षित बनायो । मनाङ मस्र्याङदी सम्भवत पोखराको मैदानमा पहिलो खेलबाटै बाहिरिएको यो पहिलो हो ।

पोखराको मैदानमा आहा रारा गोल्डकप मनाङ मस्र्याङदीले ६ पटक उचालिसकेको इतिहास छ । डिफेण्डिङ च्याम्पियन समेत रहेको मनाङ मस्र्याङदीले सोमबार संकटा विरुद्धको खेलमा भने गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा हारसँगै गोल्डकपबाट बाहिरियो । रन्जन विष्टले अतिरिक्त समयमा हानेको बल सिधै संकटाको हातमा परेको थियो ।

डिबक्सबाट सिधै प्रहार गरेपछि गोलकिपरकै हातबाट रिफ्लेक्ट भएको बललाई डिफेन्सले क्लियर गरे । खेल निकै प्रतिस्पर्धात्मक रह्यो । खेलमा म्यान अफ दि म्याच फोफोना घोषित हुदैं नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । मंगलबारको अन्तिम क्वार्टरफाईनल खेल रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लब बीच हुने छ ।