चितवनको यात्रा समाप्त

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २४ गते २०७८ मा प्रकाशित


काठमाडौं- अन्तिम चार मिनेट लिएको अग्रतालाई कायम राख्न नसक्दा एफ सी चितवन राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा चितवन पोखरा थन्डर्ससँग २–१ ले स्तब्ध भएसँगै शीर्ष चारमा पर्ने सम्भव टर्दा चितवनको अघिल्लो चरणको यात्रा समाप्त भएको हो । ५ खेल खेलेको चितवनको २ अंक रहँदा समिकरण समाप्त भएको हो । अन्तिम खेल बाँकी रहेको अवस्थामा जित निकाले पनि चितवनको अघिल्लो चरणमा पुग्ने समिकरण पर्याप्त हुँने छैन । पुनरागमन नाटकीय जित निकालेको पोखराले भने अघिल्लो चरणको सम्भावना कायम राखेको छ । त्यसका लागि पोखराले अन्य टोलीको खेलमा भर पर्नु पर्नेछ ।

अघिल्लो चरणमा पुग्नका लागि जित्ने पर्ने लक्ष्यका साथ मैदान उत्रिएका दुबै टोलीले पहिलो हाफमा गोल रहित बराबरी खेलेका थिए । दोस्रो हाफमा आक्रामक देखिएको चितवनले ७२औं मिनेटमा अग्रता निकालेको थियो । सिसिर लेखीले गोल गर्दै टोलीलाई सुरुआती अग्रता निकालेका थिए । तर खेल सकिन चार मिनेट बाँकी रहँदा नवयुग श्रेष्ठले फ्रिकिकबाट गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याए । चितवनका गोलकिपर विशाल सुुनार अगाडि बढ्दै नवयुगले अगाडी बढाएको बललाई हातले पेनाल्टी बक्स भन्दा बाहिर गएर पन्च गर्दा रातो कार्डको दर्शन गर्दै मैदान बाहिरिएका थिए । सोही अवस्थामा पोखराले पेनाल्टी बक्स भन्दा बाहिर फ्रिकिकको अवसर पाएको थियो । कप्तान नवयुग श्रेष्ठले फ्रिकिक अवसरलाई सदुपयोग गर्दै टोलीलाई खेलमा फर्काएका थिए । इन्जुरी समयमा विदेशी खेलाडी राफायल रिमगागोले गोल गर्दै अग्रता उल्टाए ।

जितपछि पोखरा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ६ खेल खेलको पोखरको ८ अंक भएको छ । अघिल्लो चरण प्रवेशका लागि अब पोखराले अन्य टोलीको नतिजालाई पर्खनु पर्ने भएको छ । यस अघि धनगढी एफसी र काठमाडौं रेजर्सले प्लेअफले स्थान बनाएका छन् । प्रतियोगितामा भोली दुई खेल हुनेछन् । पहिलो खेल विराटनगर सिटी फुटबल क्लब र ललितपुर सिटी तथा दोस्रो खेल धनगढी एफसी र बुटवल लुम्बिनी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।