सेभियासँग रियाल बराबरीमा रोकियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २७ गते २०७८ मा प्रकाशित


एजेन्सी । स्पेनिस ला लिगामा रियाल मड्रिडले आइतबार अस्थायी मैदानमा सेभियासँग बराबरी खेल्दै अंक बाँडेको छ ।

आइतबार राति भएको खेलमा रियल सेभियासँग २–२ गोलको बराबरीमा खेल्दै अंक बाँडेको हो । भ्रमणकारी टोली सेभियाका लागि फेर्नान्डोको गोलबाट २२ औं मिनेटमा सेभियाले अग्रता बनाएको थियो । यस अघि १२औं मिनेटमा रियाल मड्रिडले गोल गरे पनि भिएआरी मान्यता दिएको थिएन । करिम बेन्जिमाले गरेको गोल रद्द भएको थियो ।

तर, खेलको ६७ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा फर्काए । खेलको ७८ औं मिनेटमा इभान राकिटिचले पेनाल्टीमा गोल गर्दै सेभियालाई २–१ को अग्रता दिलाए ।

तर, खेलको इन्जुरी समयमा इडेन हाजार्डले गोल गर्दै खेल रियालको हारलाई टारे । यस बराबरीसँगै रियालले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।तर, रियाल लिगको दोस्रो स्थानमा भने उक्लिएको छ ।

रियलले ३५ खेलमा ७५ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७७ अंक रहेको छ । सेभिया ७१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।