रसियामाथि बेल्जियमको सहज जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ३० गते २०७८ मा प्रकाशित


पोखरा-रोमेलु लुकाकुको प्रेरणादायी खेलमा गएराती बेल्जियमले युरोकपको पहिलो खेलमा रसियालाई ३-० गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा छ ।

पहिलो हाफमै दुई गोल गरेको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गर्दै जित सुनिश्चित बनाएको थियो ।

दशौं मिनेटमा लुकाकुले बेल्जियमका लागि अग्रता दिलाए । बायाँ खुट्टाको प्रहार सिधै पोष्टभित्र बल छिरेपछि बेल्जियमको लागि युरोकपको पहिलो गोलको खुशी मनायो । त्यसभन्दा अघि बेल्जियमले फ्रिकको अवसरलाई गुमाएको थियो ।

पहिलो गोलसँगै रसियाले पनि गोलको अवसर सृजना गर्यो । तर बलले पोष्टको दिशा लिन सकेन् । १४ र १६ मिनेटमा मारियो फर्नाण्डेज र मागोमेड ओजडोईभको प्रहार खेर गएको थियो ।

खेलको ३४ औं मिनेटमा बेल्जियमले अर्को गोल थप्दै रसियालाई मत्थर बनायो । थोमस म्युनियरले बायाँ खुट्टाले प्रहार गरेको बलले पोष्टको जाली हल्लाएपछि बेल्जिमयले पहिलो हाफमै दुई गोलको अग्रता लिन सफल रह्यो ।

४६ औं मिनेटमा रसियाका लागि डेनिस चेरेसिभको पासमा रोमन जोब्निनले प्रहार निकै माथिबाट आकासिएको थियो । ५५ औं मिनेटमा रसियाका अलेक्जाण्डर गोलोभिनको प्रहार पनि खेर गएपनि रसिया एकपछि अर्को निराश थपियो ।

८८ औं मिनेटमा आईपुग्दा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमको फराकिलो जित सम्भब बनाए । उनले थोमस म्युनियरको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरे ।