रसियासँग फिनल्याण्ड स्तब्ध

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २ गते २०७८ मा प्रकाशित


सेन्ट पिट्सबर्ग (एजेन्सी)– अघिल्लो खेलमा डेनमार्कलाई पराजित गरेर उत्साहित बनेको फिनल्याण्ड रसियासँग स्तब्ध बनेको छ । पहिलो हाफको इन्जुरी समयमा एलेक्से मिरानचुकले गरेको गोल निर्णायक बन्दा रसियाले फिनल्यान्डलाई हराउँदै युरोकप २०२० मा पहिलो जित निकालेको छ ।

सेन्ट पिट्सबर्गमा भएको प्रतिस्पर्धामा रसियालाई १–० ले रोक्दै जारी प्रतियोगितामा पहिलो सफलता पाएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा अग्रता लिनु पूर्व दुबै टोलीले गोलका लागि केही अवसर सिर्जना गरेका थिए । केही अवसरमा स्ट्राइकर चुके भने केही राम्रा प्रहारलाई दुबै टोलीका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

पहिलो खेलमा डेनमार्कलाई १–० ले हराएर प्रतियोगितामा सुखद सुरुआत गरेको फिनल्यान्ड रसियासँग रोकिँदा एक खेल अगावै अघिल्लो चरण प्रवेश गर्ने लक्ष्य बिफल भएको छ । फिनल्यान्डको लक्ष्यलाई विफल पार्न पहिलो हाफको इन्जुरी समयमा एलेक्से मिरानचुकले गरेको गोल निर्णायक भएको हो । पहिलो खेल बेल्जियमसँग हारेको रसियाले स्पष्ट अंक जोड्दै अघिल्लो चरणको प्रवेशको सम्भावनालाई जिवितै राखेको छ ।

जित निकालेको रसियाले समूहको अन्तिम खेल अब डेनमार्कसँग खेल्ने छ भने पराजित फिनल्यान्डले बेल्जियमसँग प्रतिस्पर्धा गर्ने छ । समूह तालिकामा बेल्जियमकमो १ खेलबाट ३ अंक छ भने दुई खेलबाट एक÷एक खेलमा जित निकालेका टोलीद्वय रसिया र फिनल्यान्ड क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । अंक विहिन डेनमार्क पुछारमा छ ।