रुसलाई हराउँदै डेनमार्क अघिल्लो चरणमा

- नेदरल्याण्ड्स र अष्ट्रिया अन्तिम १६ मा, युक्रेनको झिनो सम्भावना कायमै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ८ गते २०७८ मा प्रकाशित


डेनमार्क जारी युरोकपको नकआउट चरणमा प्रवेश गर्दाकाे दिन नेदरल्याण्ड्स र अष्ट्रिया १६औं संस्करणको युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छन ।

सोमबार राति सम्पन्न खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गरेको डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

घरेलु मैदान पार्केन स्टेडियममा सम्पन्न खेलमा डेनमार्कका मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक गोल गरे । रुसका लागि आर्टम ज्यूबाले सान्त्वना गोल फर्काए । डेनमार्कले खेलको ३८ औं मिनेटमा डाम्सगार्डको गोलमा अग्रता बनाएको थियो । ५९औं मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर बनाए ।

खेलको ७० औं पाएको पेनाल्टी सदुपयोग गर्दै रुसले खेल २-१ को स्थितिमा ल्यायो । आर्टमले पेनाल्टीमा गोल गर्दै गरेका थिए । खेलको ७९ औं मिनेटमा क्रिस्टियनसेनले गोल गर्दै डेनमार्कलाई ३-१ को स्थितिमा पुर्याए भने ८२ औं मिनेटमा जोकिमले गोल गर्दै डेनमार्कलाई ४-१ को जित दिलाए ।

जितसँगै समूह ‘बी’ को डेनमार्कले ३ खेलमा ३ अंक जोड्दै समूहको उपविजेता बन्यो । पहिलो खेलमा फिनल्याण्डसँग १-० ले पराजित भएको डेनमार्क दोस्रो खेलमा बेल्जियमसँग २-१ ले पराजित भएको थियो ।

समान तीन अंक भए गोलअन्तरका आधारमा रुस भने समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा बेल्जियमसँग ३-० ले पराजित भएको रुसले दोस्रो खेलमा फिनल्याण्डलाई १-० ले हराएको थियो ।

समूह ‘सी’ अन्तर्गत सोमबार राति भएको अन्तिम खेलमा नेदरल्याण्ड्स नर्थ म्यासेडोनियालाई र अष्ट्रिया युक्रेनलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन ।

एक खेल बाँकी छदै अन्तिम १६ मा स्थान पक्का गरिसकेको डच टोलीले नर्थ म्यासेडोनियामाथि ३-० को सहज जित निकालेको हो । घरेलु मैदान योहान क्रुएफ एरिनामा भएको खेलमा डच टोलीका लागि कप्तान जर्जिनियो वाइनाल्डमले दुई तथा मेम्फिस डिपाएले एक गोल गरे ।

खेलको १० औं मिनेटमा इभान ट्रिकोभ्स्कीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । कप्तान गोरान पाण्डेभले स्टेफन रिस्टोभ्स्कीको पासमा ट्रिकोभ्स्की गोल गरेपनि भीएआरले अफसाइड दियो ।

२४ औं मिनेटमा डोनेल मालेनले काउन्टर अट्याकमा मिलाइदिएको पासमा मेम्फिस डिपाएले गोल गर्दै डच टोलीलाई १-० को अग्रता दिलाए । ५१ औं मिनेटमा कप्तानवाइनाल्डमले गोल गर्दै डच टोलीको अग्रता दोब्बर पारे । उनले पहिलो गोल गरेका मेम्फिस डिपाएको पासमा ६ यार्ड भित्रबाट सहज गोल गरेका थिए ।

५८ औं मिनेटमा कप्तान वाइनाल्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै डच टोलीलाई ३-० ले अघि बढाए । डिपाएले दिएको पासलाई वाइनाल्डमले गोलको दिशा देखाएका थिए ।

७३ औं मिनेटमा इनिस बार्दीको पासमा डार्को चुर्लिनोभले गोल गरेका थिए । तर, भिएआरले उनलाई उनी अफसाइड पोजिसनमा देखाउँदा म्यासेडोनियाले गोल अन्तर कम गर्न सकेन ।

अष्ट्रिया पनि अन्तिम १६ मा

बुकारेस्टस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा अष्ट्रियाले युक्रेनलाई १-० ले पराजित गरेको हो ।

क्रिस्टोफ बाउमगार्टनरले पहिलो हाफमा गरेको गोलमा अष्ट्रियाले पहिलोपटक अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

खेलको २१ औं मिनेटमा कप्तान डेविड अलाबाको पासमा बाउमगार्टनरले गोल गरेका थिए । अलाबाले प्रहार गरेको कर्नरमा बाउमगार्टनरले गोल गर्न गरेका थिए ।

यारेमचुकले इन्ज्युरी समयमा गरेको गोल अफसाइड ठहर भएपछि युक्रेनको सम्भावना सकिएको थियो । समूह ‘सी’ मा डच टोलीले ३ खेलबाट ९ अंक जोड्यो । नर्थ म्यासेडोनिया अंकविहीन हुँदै समूह चरणबाट बाहिरियो ।

यो समूहबाट अष्ट्रियाले ६ जोडदै समूह उपविजेताको रुपमा पहिलोपटक अन्तिम १६ मा स्थान पक्का गरेको छ । यता, ३ अंक जोडेको युक्रेनको उत्कृष्ट तेस्रो टोलीको रुपमा अघि बढ्ने झिनो सम्भावना छ । सोमबार भएको खेलमा अष्ट्रियाले युक्रेनलाई १-० ले पराजित गरेको हो ।

अष्ट्रियाले अब अन्तिम १६ मा इटालीको सामना गर्नेछ । इटाली समूह ‘ए’ को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।